काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको सूची तयार पारेको छ ।
नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११० कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।
जसमा कुल २२ वटा बीमा कम्पनी परेका छन् । हिमालयन रि इन्स्योरेन्ससहित २२ बीमा कम्पनीले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७७ को मापदण्ड पुरा गरेकोले योग्य कम्पनीको सूचीमा परेको नेप्सेले जनाएको छ ।
यसअघिको मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा जम्मा १७ वटा बीमा कम्पनी परेका थिए ।
नेप्सेको धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य बीमा कम्पनीहरुमा एशियन लाइफ, सिटिजन लाइफ, हिमालयन लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफ, हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, नेको, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, सगरमाथा लुम्बिनी, शिखर, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड र सानिमा जिआइसी र हिमालयन रि इन्स्योरेन्स रहेका छन् ।
नेप्सेको धितोपत्र व्यापारी कार्य सञ्चालन सम्बन्धि कार्यविधि व्यवस्थामा उल्लेख भएबमोजिम तोकिएको सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापुँजी भन्दा कम नरहेको हुनुपर्नेछ । साथै नेप्सेले पछिल्लो दुई आर्थिक वर्षमा लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आवको ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीलाई मात्रै मार्जिन कारोबार सुविधा दिने व्यवस्था छ ।
लगानीकर्ताले अब उक्त २२ बीमा कम्पनीको सेयर धितो राखेर सेयर धितो कर्जा लिन सक्नेछन् ।

