काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीको नाफा, बीमाशुल्क आर्जन तथा खुद आम्दानीमा वृद्धि देखिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन ४१.३१ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब २९ करोड रुपैयाँमा सीमित थियो। बीमाशुल्क आर्जनमा भएको यो वृद्धिलाई कम्पनीको व्यवसाय विस्तार र बजार पहुँच सुदृढ भएको मान्न सकिन्छ ।
त्यसैगरी, कुल आम्दानी ३ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यद्यपि, दाबी भुक्तानी र खर्च दुवैमा वृद्धि देखिएको छ। दाबी भुक्तानी १ अर्ब १८ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। बढ्दो दाबी र खर्चका बाबजुद कम्पनीले नाफा वृद्धि कायम राख्न सफल भएको छ।
कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड ७६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.०२ रुपैयाँ र पीई रेसियो ७०.७४ गुणा कायम भएको छ ।

