काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा मध्यावधि निर्वाचनअन्तर्गत आज बिहान मतदान गरेका छन्।
काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका घिसिङले बिहान ७ बजे नै बौद्धको महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको विश्वासका आधारमा आफ्नो पार्टीले चुनाव जित्ने विश्वास व्यक्त गरे। “जनताले विश्वास गरेर हामीले जित्छौं,” उनले भने।
घिसिङले हालसम्म निर्वाचनको वातावरण सामान्य र शान्तिपूर्ण रहेको बताए पनि केही स्थानमा पैसा बाँडिएको भन्ने सूचना आफूले सुनेको उल्लेख गरे। यस्तो कुरा आफ्नै निर्वाचन क्षेत्रमा समेत सुनिएको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।
विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ यसपटक पहिलो पटक आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ स्थापना गरी निर्वाचन मैदानमा उत्रिएका हुन्। काठमाडौं–३ मा उनको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।