काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान हुने दिनमा पालना गर्नुपर्ने नियम र निषेधका बारेमा स्पष्ट निर्देशन जारी गरेको छ।
आयोगका अनुसार, मतदान हुने दिन मतदान सुरु हुनुभन्दा तीन घण्टा अघि देखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा कार्यरत कर्मचारीलाई बाधा पुर्याउने काम, डर वा त्रास सिर्जना गर्ने कार्य गर्न वा मतदान प्रक्रियामा असर गर्ने कुनै पनि गतिविधि गर्न पाउँदैन।
त्यसैगरी, मतदान दिनमा एसएमएस पठाउन, साउन्ड सिस्टम प्रयोग गर्न, सामाजिक सञ्जालमा प्रचार(प्रसार गर्न, नाचगान, सार्वजनिक भोज, जुलुस, सभा वा हुलहुज्जत गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन आयोगले उल्लङ्घन गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने चेतावनी समेत दिएको छ। आयोगले मतदाताहरुलाई सुरक्षित, निष्पक्ष र त्रुटिमुक्त मतदान सुनिश्चित गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ।

