काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका अवसरमा सुखानी शहीद दिवस तथा आफ्नो व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित अनुभव साझा गरेका छन्।
फेसबुक पोष्टमा उनले आजका दिन जीवनका दुई महत्वपूर्ण घटनाहरू सम्झन लायक भएको लेखेका छन्। ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ उनले लेखेका छन् ।
उनले झापा आन्दोलनको समयमा अनुभव गरेका कठोर संघर्षको सम्झना गर्दै १४ वर्षको कारावास भोग्नु परेको कुरा उल्लेख गरेका छन्। साथै, शहीदहरू—रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
अध्यक्ष ओलीले फागुन २१ लाई कहिल्यै नबिर्सने दिन भन्दै शहीदहरूको बलिदान र व्यक्तिगत जीवनका चुनौतीहरूलाई सम्झन विशेष महत्व दिएको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।