काठमाण्डौ । नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले खुशी व्यक्त गर्दै बधाई दिएको छ।
भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा नेपालमा सम्पन्न निर्वाचनलाई स्वागत गर्दै निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको जनाएको छ।
विज्ञप्तिमा चुनाव सम्पन्न गराउन नेतृत्व गरेको प्रधानमन्त्री सुशीला कार्कीलाई तथा लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी भएका नेपाली मतदातालाई पनि भारतले बधाई दिएको उल्लेख छ।
भारतले नेपालमा शान्ति, स्थायित्व र विकासका प्रयासलाई निरन्तर समर्थन गर्दै आएको भन्दै आगामी दिनमा दुई देश र जनताबीचको बहुआयामिक सम्बन्ध अझ मजबुत बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

