काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको भने ८ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूहको आज १.५३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, फाइनान्स समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.९६ प्रतिशत, लगानी समूहको ०.७२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४३ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८८ प्रतिशत र अन्य समूहको ०.०१ प्रतिशतले बढेको छ ।
आज घट्ने समूहहरुमा बैंकिङ समूह ०.२७ प्रतिशत, विकास बैंक समूह ०.५० प्रतिशत, होटल तथा पर्यटन समूह ०.८६ प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत, निर्जीवन बीमा समूह ०.०४ प्रतिशत र व्यापार समूह ०.५९ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आजको बजार सामान्य करेक्सन हो, दिनभरी घटेको बजार अन्तिम कारोबार समयसम्म आइपुग्दा झिनो अंकले बढेपनि यसलाई करेक्सन नै मान्न सकिन्छ । साथै लगानीकर्ताहरुले दुई दिनयता बढेको बजारमा नाफा बुक पनि गरेका हुन् । अहिले बजारमा सेक्टर रोटेसन देखिएको छ । केही दिन हाइड्रो सेक्टरमा चार्म थियो भने हिजो र आज दिनभरी बैंक र माइक्रोफाइनान्समा चार्म देखिएको थियो तर अन्तिम समयमा फेरी हाइड्रो उचालिएको देखियो । अहिले बजार बढ्नका लागि सहज अवस्था छ । बैंकहरुमा तरलता पर्याप्त भएका कारण सामान्य करेक्सन देखिदा आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
साथै उनले बजार बुलिस सेन्टिमेन्टको लागि आधार बन्न तयार भएको बताए । ‘बजारमा यतिबेला बुलिस देखिनका लागि आधार तयार भएको देखिन्छ, जसको लागि अहिले बजारमा एक्युमुलेसन भएको देखिएको छ्’ उनले भने, ‘नयाँ अर्थमन्त्री आएपछि बजारमा चैत मसान्तसको दबाब देखिएर सप्लाई बढी आउन सक्ने देखिन्छ, यसले बजारमा एउटा करेक्सन देखिन सक्छ तर दीर्घकालिन लगानी गर्नेहरुका लागि यस्तो करेक्सनले फरक पार्दैन ।’
सर्वाधिक कमाउने कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीमा ४ कम्पनी रहेका छन् । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात १० प्रतिशलते बढेको छ । सालपा विकास बैंकको सेयरभाउ १६८०.१० रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १५१२.६० रुपैयाँ, सोलु हाइड्रोको ५३१.४० रुपैयाँ र भुजुङ्ग हाइड्रोपावरको ३२६.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोको ९.९६ प्रतिशत, होटल फरेस्ट इनको १९७.६० रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ९७३ रुपैयाँ, आशा लघुवित्तको १२९५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ८६० रुपैयाँ र कुमारी बैंकको ऋणपत्रको १३४६ रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा अर्थात स्टकमा सनराइज फर्स्ट म्युचुअल फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ३.७१ प्रतिशलते घटेर १०.३९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, कुमारी धनवृद्धि योजनाको ३.५६ प्रतिशत, सिन्धु विकास बैंकको ३.२३ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको २.८६ प्रतिशत, स्वस्तिक लघुवित्तको २.७५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको २.७४ प्रतिशत, नेशनल हाइड्रोपावरको २.२९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २.१९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको २.१७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको २.१४ प्रतिशतले घटेको छ ।

