काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयका जिम्मेवार सस्मित पोखरेलले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति विवरण खुलाएका छन्। विवरणमा बुवा, आमा, मावलीकी हजुरआमा र दिदीबहिनीहरूको संयुक्त नाममा काठमाण्डौ, मोरङ र ललितपुरसहित सात स्थानमा करिब २० करोड रुपैयाँबराबरको अचल सम्पत्ति रहेको उल्लेख छ।
उनको विवरणमा २५ तोला सुन र १०० तोला चाँदी रहेको पनि जनाइएको छ। व्यक्तिगत बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको तथा अमेरिकी डलर खातामा ५ अमेरिकी डलर रहेको उल्लेख छ।
त्यस्तै, परिवारका सदस्यहरूद्वारा सेयर तथा बचतपत्रमा लगानी गरिएको विवरण पनि सार्वजनिक गरिएको छ। बुवा रमेशकुमार पोखरेलसहित परिवारका सदस्यहरूको नाममा विभिन्न कम्पनीका सेयर तथा पीएमएस होल्डिङ्समार्फत करिब ३० लाख रुपैयाँ बराबरको लगानी रहेको जनाइएको छ।
यसैगरी, बुवाले राष्ट्रिय बचतपत्रमार्फत प्राप्त रकम प्रयोग गरी करिब ९६ लाख ९० हजार रुपैयाँ बराबरको लगानी सेयर खरिदमा प्रयोग गरिएको विवरणमा उल्लेख छ। आमाको नाममा पनि ५० लाख रुपैयाँबराबरको राष्ट्रिय बचतपत्र रहेको जनाइएको छ।
विवरणअनुसार सस्मित पोखरेल र उनकी आमाको नाममा ७५ लाख रुपैयाँ बराबरको ऋणसमेत रहेको देखिएको छ। हिमालयन बैंकमा २५ लाख र माछापुच्छ्रे बैंकमा ५० लाख रुपैयाँ कर्जा लिएको उल्लेख छ।
त्यस्तै, बुवा र उनको नाममा दुईवटा सवारी साधन रहेको विवरणमा जनाइएको छ।

