काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
सभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरणसमेत पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।
पाँच सञ्चालक निर्वाचित
साधारणसभाले पाँच जना सञ्चालकसमेत निर्वाचित गरेको छ। कम्पनीको सञ्चालकमा डोलराज शर्मा, उत्तमप्रसाद भट्टराई, अरुणकुमार केसी, टिका प्रसाद उप्रेती र झनक दत्त खनाल निर्वाचित भएका छन्।
डोलराज शर्मा यसअघि पनि कम्पनीमा आबद्ध थिए। उनकै नेतृत्वमा मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ।
लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस
माउण्टेन इनर्जीले आर्थिक वर्ष २०८१/८२ मा पनि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
यससँगै कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशत बढी हो।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेर पुँजी बढाउँदासमेत कम्पनीले प्रतिशेयर आम्दानी २५ रुपैयाँभन्दा माथि कायम राख्न सफल भएको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ।
आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले त्यसपछि बोनस शेयरमा जोड दिएको छ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरिएको थियो।
पुँजी बढ्दै जाँदासमेत कम्पनीले लगातार चौथो वर्ष दोहोरो अंकको लाभांश वितरण गर्न सफल भएको छ।
६५ मेगावाटको दूधखोला आयोजना निर्माणमा
माउण्टेन इनर्जीले ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीले सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालिमार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण सुरु गरेको छ।
आयोजनाको वित्तीय व्यवस्थापन गत साउनमा सम्पन्न भइसकेको छ।
मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले आयोजना लागतका हिसाबले आकर्षक मानिएको कम्पनीले जनाएको छ।
आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले संयुक्त रूपमा १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ।
निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।