मंगलवार, श्रावण १९,२०८३ 01:43:24
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:43:24
Bizshala
Global IME Bank Limited

अमेरिका–इरान तनावबीच तेल बजारमा राहतका संकेत, हर्मुजबाट सुरक्षित बाहिरिए दुई चिनियाँ जहाज

अमेरिका–इरान तनावबीच तेल बजारमा राहतका संकेत, हर्मुजबाट सुरक्षित बाहिरिए दुई चिनियाँ जहाज
New Office

काठमाण्डौं । अमेरिका–इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य द्वन्द्वको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा भने केही राहतका संकेत देखिन थालेका छन्।

विश्व तेल आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका दुई चिनियाँ पानीजहाज सुरक्षित रूपमा बाहिरिएपछि कूटनीतिक समाधानतर्फ आशा बढेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध “धेरै चाँडै अन्त्य हुन सक्ने” संकेत गर्दै कूटनीतिक समाधानतर्फ आशावादी रहेको बताएका थिए।  

उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग जारी वार्तामा प्रगति भइरहेको उल्लेख गर्दै सम्झौताका लागि वातावरण बन्दै गएको दाबी गरेका छन्।

यसैबीच, इराकी तेल बोकेका ती दुई चिनियाँ जहाज हर्मुज जलमार्ग पार गरेर बाहिरिएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्लेषकहरूका अनुसार यो घटनाले तत्कालका लागि आपूर्ति जोखिम केही कम भएको संकेत गरेको छ।

यसअघि अमेरिकी प्रशासनले इरानमाथि सैन्य कारबाहीको तयारी गरेको भएपनि वार्तालाई अवसर दिन भन्दै अन्तिम समयमा योजना स्थगित गरिएको बताइएको छ।  

राष्ट्रपति ट्रम्पले इरानलाई “अन्तिम मौका” दिइएको तर सहमति नआए कठोर कदम चालिने चेतावनी समेत दिएका थिए।

इरानले अमेरिका समक्ष परिमार्जित शान्ति प्रस्ताव पठाएको भएपनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

अमेरिकी पक्षले उक्त प्रस्तावलाई अपर्याप्त भने पनि कूटनीतिक संवाद भने जारी रहेको जनाइएको छ।

यसैबीच, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) ले मध्यपूर्वमा थप तनाव नबढाउन अमेरिकी प्रशासनलाई आग्रह गरेपछि ट्रम्प प्रशासनले तत्कालका लागि आक्रमण योजना रोक्ने निर्णय गरेको बताइएको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि अरब मुलुकहरूको अनुरोधपछि सैन्य कारबाही स्थगित गरिएको स्पष्ट पारेका छन्।

ट्रम्पका अनुसार उनी सैन्य निर्णय लिन करिब अन्तिम चरणमा पुगेका थिए, तर वार्ताको सम्भावनालाई प्राथमिकता दिँदै कदम रोकिएको हो। 

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयास जारी रहने बताएका छन्।

उता, इरान–इजरायल तनाव र अमेरिका–इरान सम्बन्ध थप जटिल बन्दै गएको अवस्थामा स्ट्रेट अफ हर्मुज क्षेत्र अझ संवेदनशील बनेको छ।  

विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले यहाँ हुने अवरोधले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

पछिल्ला दिनहरूमा इरानले यस जलमार्गमा नियन्त्रण कडा बनाउँदै केही जहाजबाट शुल्क असुल गरेको विवरणहरू सार्वजनिक भएका थिए।  

यद्यपि पछिल्लो कूटनीतिक सक्रियतापछि केही जहाजहरूलाई सुरक्षित आवागमनको अनुमति दिइएको देखिएको छ।

विश्लेषकहरूका अनुसार यदि हर्मुजमा पुनः अवरोध वा तनाव बढेमा विश्व तेल आपूर्ति प्रभावित भई मूल्य फेरि उकालो लाग्न सक्छ।  

तर, हालको कूटनीतिक पहल र समुद्री मार्गमा देखिएको सहजताले तत्कालका लागि ऊर्जा बजारमा स्थायित्वको संकेत दिएको छ।

एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.