मंगलवार, श्रावण १९,२०८३ 01:00:56
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:00:56
Bizshala
Global IME Bank Limited

जनस्वास्थ्यसँग खेलवाड गर्दै यशोदा फूड्स: उत्पादन गुणस्तरहीन, उद्योगको ध्यान भने इमेज बचाउन

जनस्वास्थ्यसँग खेलवाड गर्दै यशोदा फूड्स: उत्पादन गुणस्तरहीन, उद्योगको ध्यान भने इमेज बचाउन
New Office

काठमाण्डौ । रुपन्देहीस्थित यशोदा फूड्स प्रालिले उत्पादन गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गम्भीर गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन दिएको छ । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रिकोल (Recall) आदेश जारी गरेको हो ।

तर, सरकारी कारबाहीपछि उद्योगले भने आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा ‘गर्मी’, ‘भण्डारण’ र ‘पसलमा घाम लाग्ने’ जस्ता तर्क अघि सार्दै विज्ञप्तिमार्फत बचाउ गर्ने प्रयास गरेको छ । यसले उल्टै उद्योग लामो समयदेखि जनस्वास्थ्यसँग खेलवाड गर्दै आएको आशंका थप बलियो बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेका दुई फरक आदेशअनुसार यशोदा फूड्सका ‘लाली’ र ‘करेन्ट’ दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डमा फेल भएका हुन् ।

विभागका अनुसार ‘लाली’ चाउचाउ (५० ग्राम), ब्याच नम्बर ०२A मा ‘एक्स्ट्र्याक्टेड प्याकेटको एसिड भ्यालु’ सरकारले तोकेको मापदण्डअनुसार नपाइएको छ । यस्तै ‘करेन्ट’ नुडल्स (१०० ग्राम), ब्याच नम्बर ०४A मा पनि उस्तै समस्या भेटिएको विभागको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यी दुवै उत्पादन यशोदा फूड्स प्रालि, तिलोत्तमा-१५ रुपन्देहीले उत्पादन गरेको हो । विभागले तत्काल बजारबाट ती उत्पादन फिर्ता गर्न, बिक्रीवितरण रोक्न र उपभोक्तालाई प्रयोग नगर्न निर्देशन दिएको छ ।

सरकारी आदेशपछि उद्योगको ‘स्पष्टीकरण’

सरकारी कारबाही सार्वजनिक भएपछि यशोदा फूड्सले ‘जनहितमा जारी सन्देश’ शीर्षकमा विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गर्ने प्रयास गरेको छ । विज्ञप्तिमा उद्योगले आफूले रोजगारी सिर्जना गरेको, नेपालबाट विदेशसम्म निर्यात गरिरहेको र गर्मीयाममा पसल तथा गोदाममा चर्को घाम लाग्दा गुणस्तरमा असर पर्न सक्ने दाबी गरेको छ ।

उद्योगले विक्रेतालाई ‘घाम नपर्ने ठाउँमा राख्न’ सुझाव दिँदै उपभोक्तालाई उत्पादन मिति र म्याद हेरेर मात्र प्रयोग गर्न आग्रह समेत गरेको छ ।

तर, खाद्य गुणस्तरसम्बन्धी जानकारहरूका अनुसार यस्तो तर्कले उद्योगको जिम्मेवारी झन् कमजोर बनाएको छ । “यदि उत्पादन सामान्य तापक्रममै गुणस्तर जोगाउन नसक्ने हो भने त्यो उत्पादनको प्याकेजिङ, प्रशोधन वा कच्चा पदार्थमै समस्या छ भन्ने देखिन्छ,” खाद्य क्षेत्रका एक विज्ञले भने ।

‘घामलाई दोष दिएर उद्योग उम्किन मिल्छ ?’

विशेषज्ञहरूका अनुसार खाद्य उद्योगले बजारको सामान्य वातावरणलाई ध्यानमै राखेर उत्पादन गर्नुपर्ने हुन्छ । नेपालजस्तो देशमा गर्मी हुनु अस्वाभाविक नभएकाले ‘घाम लाग्यो’ भन्ने तर्क गरेर उद्योग जिम्मेवारीबाट उम्किन नसक्ने उनीहरूको भनाइ छ।

झन् सरकारी प्रयोगशालाले परीक्षण गरेर गुणस्तर फेल घोषणा गरिसकेको अवस्थामा उद्योगले तथ्य स्वीकार गर्नुको सट्टा भावनात्मक अपिल र आत्मप्रशंसा गर्दै विषयान्तर गर्न खोजेको आरोप लागेको छ ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्ता उत्पादन बालबालिका र युवापुस्ताले अत्यधिक खाने भएकाले यसको असर अझ गम्भीर हुन सक्छ । “सस्तो, मसलेदार र आकर्षक प्याकेटिङ भएका चाउचाउहरू दैनिक उपभोगमा छन् । त्यही उत्पादन गुणस्तरहीन भेटिनु सामान्य विषय होइन,” उनीहरू भन्छन् ।

कति समयदेखि भइरहेको थियो यस्तो खेल ?

सरकारले अहिले दुई वटा ब्याच फिर्ता गर्न आदेश दिए पनि उपभोक्तामाझ अर्को प्रश्न उठेको छ: यस्ता गुणस्तरहीन उत्पादन कति समयदेखि बजारमा बिक्री भइरहेका थिए ?

यदि एउटै उद्योगका फरक-फरक ब्राण्डमा लगातार समस्या देखिएको हो भने त्यो ‘एक्सिडेन्ट’ मात्र नभई उत्पादन प्रणालीमै गम्भीर कमजोरी भएको संकेत मान्नुपर्ने खाद्य क्षेत्रका जानकारहरू बताउँछन् ।

उनीहरूका अनुसार अब सामान्य चेतावनी मात्र होइन, उत्पादन प्रक्रिया, कच्चा पदार्थ, प्रयोगशाला परीक्षण र बजार निगरानीको विस्तृत अनुसन्धान आवश्यक छ ।

अब के गर्छ सरकार ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने पछिल्लो समय बजार अनुगमन कडा बनाइएको जनाएको छ । विभागका अधिकारीहरूका अनुसार जनस्वास्थ्यमा जोखिम देखिने उत्पादनमाथि आगामी दिनमा अझ कठोर कारबाही गरिनेछ ।

तर, उपभोक्ताहरूले भने प्रश्न उठाइरहेका छन्- गुणस्तरहीन खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई केवल ‘रिकोल’ आदेश मात्रै पर्याप्त हो, कि अब कडा जरिवाना र कानुनी कारबाही पनि हुनुपर्छ ?

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.