मंगलवार, श्रावण १९,२०८३ 11:54:09
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:54:09
Bizshala
Global IME Bank Limited

इन्द्रावती खोलाको बाढीले पुलमा क्षति, ताप्लेजुङ–पाँचथर जोड्ने सडक सम्पर्क पूर्ण अवरुद्ध

इन्द्रावती खोलाको बाढीले पुलमा क्षति, ताप्लेजुङ–पाँचथर जोड्ने सडक सम्पर्क पूर्ण अवरुद्ध
New Office

काठमाण्डौं । लगातारको वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने मोटरेबल पुलमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।  

बाढीका कारण पुलको एक भाग भत्किँदा स्थानीय तथा लामो दूरीका सवारीसाधन सञ्चालन ठप्प बनेका छन् ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्ने उद्देश्यले निर्माण गरिएको मोटरेबल पुलमा शुक्रबार राति आएको बाढीले क्षति पुर्‍याएको हो ।

स्थानीयका अनुसार इन्द्रावती खोलामा पानीको बहाव अचानक बढेपछि पुलको साब्लाखुतर्फको भागमा ठूलो असर पुगेको हो ।

स्थानीयवासी सञ्जय पन्दाकका अनुसार बाढीले पुलको पक्की संरचनाबाहिरको करिब छ मिटर क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ ।

पुलको जीप मार्ग भासिँदा तथा संरचनाको जोडिने भाग कमजोर बन्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए ।  

उनका अनुसार पुलको मुख्य पक्की संरचनासमेत जोखिममा परेकाले थप क्षति हुन सक्ने चिन्ता बढेको छ ।

पुल क्षतिग्रस्त भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रसँगै सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका सवारी सेवा प्रभावित भएका छन् । 

सडक सम्पर्क अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत, बजार पहुँच र आपूर्ति प्रणालीमा समेत असर परेको छ ।

 

सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) का अनुसार पुलमा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ जाने तथा पाँचथर, इलाम हुँदै अन्य जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।  

त्यस्तै, सिदिङ्वा क्षेत्रमा प्रवेश गर्ने यात्रु तथा मालवाहक सवारी पनि पाँचथरतर्फ नै रोकिएको जानकारी उनले दिइन् ।

स्थानीय तहका जनप्रतिनिधिका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको माथिल्लो भेगमा भारी वर्षा भएको थियो ।  

सोही वर्षापछि खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको अनुमान गरिएको छ ।  

हालसम्म पुलबाहेक अन्य भौतिक संरचना वा बस्ती क्षेत्रमा क्षति पुगे–नपुगेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

घटनापछि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायले क्षतिको प्रारम्भिक मूल्याङ्कन सुरु गरेका छन् ।  

वैकल्पिक यातायात व्यवस्था तथा पुल मर्मतसम्भारबारे छलफल भइरहेको जनाइएको छ ।

पुल सञ्चालनमा नआएसम्म सिदिङ्वा क्षेत्रको यातायात तथा ढुवानी सेवा प्रभावित रहने देखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.