काठमाण्डौ । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको उक्त प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ र उक्त सभा आगामी असार १ गते काठमाण्डौको सिनामंगलमा रहेको राइन होटलमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारणमा सार्वजनिक रुपमा सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने, कम्पनीको उद्देश्य थप गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
मेरो किसानले नेपालको कृषि क्षेत्रमा आधुनिक प्रविधि, दिगोपन र किसान सशक्तीकरणमार्फत नयाँ परिवर्तन ल्याउने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको छ। सन् २०२० मा स्थापना भएको यो एग्री–टेक कम्पनीले स्थानीय किसान र उपभोक्ताबीचको दूरी घटाउँदै ताजा, अर्गानिक तथा स्थानीय उत्पादन सिधै घर–घरमा पुर्याउने काम गर्दै आएको छ।
कम्पनीका अनुसार, ‘किसानको मेहनतलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ संस्था अघि बढिरहेको छ। आधुनिक कोल्ड–चेन पूर्वाधार, प्रविधिमैत्री आपूर्ति प्रणाली तथा फराकिलो किसान सञ्जालका कारण कम्पनीले छोटो समयमै हजारौँ ग्राहकको विश्वास जित्न सफल भएको जनाएको छ।
मेरो किसानले बिचौलियाको भूमिका न्यून गर्दै किसान र उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ पुग्ने प्रणाली विकास गरेको छ। कम्पनीले कृषि उत्पादनको गुणस्तर, ताजापन र पारदर्शितामा विशेष ध्यान दिँदै खाद्य अपव्यय कम गर्ने दिशामा समेत काम गरिरहेको जनाएको छ।
नेपालमा दिगो कृषि प्रणाली निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित अघि बढेको कम्पनीले आगामी दिनमा थप प्रविधिमैत्री सेवा विस्तार गर्दै किसानको आर्थिक अवस्था सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

