काठमाण्डौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग आसपास सक्रिय न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
शनिबार विभिन्न स्थानमा वर्षा गराएको यही प्रणालीको प्रभाव आइतबार पनि कायम रहने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ ।
तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा गर्मीको प्रभाव बढ्न सक्ने तथा तराई भू–भागमा तातो हावाको लहर चल्ने सम्भावना औँल्याइएको छ ।
विभागले विशेषगरी गर्मी बढ्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
यसैबीच, मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि गतिविधि तथा सवारी आवागमनमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
मौसममा भइरहेको उतारचढावका कारण आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

