मंगलवार, श्रावण १२,२०८३ 06:47:58
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 06:47:58
Bizshala
Global IME Bank Limited

बिजशालाको समाचारपछि रोकियो अर्को खेपः ७० बोरा खैनी–गुट्खा फिर्ता, विमानस्थल भन्सारभित्रको मिलेमतोमाथि छानबिनको माग

बिजशालाको समाचारपछि रोकियो अर्को खेपः ७० बोरा खैनी–गुट्खा फिर्ता, विमानस्थल भन्सारभित्रको मिलेमतोमाथि छानबिनको माग
New Office

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत जापान लगायतका मुलुकमा खैनी, गुट्खा र चुरोटको अवैध कारोबार भइरहेको विषयमा बिजशालाले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेपछि अर्को ठूलो खेप विदेश पठाउने प्रयास अन्तिम समयमा विफल भएको छ।

स्रोतका अनुसार बिहीबार करिब ७० बोरा सुर्तीजन्य पदार्थ विदेश पठाउने तयारी गरिएको थियो। तर यसअघिका समाचारपछि गृहमन्त्रालय, अर्थमन्त्रालय तथा भन्सार विभागको ध्यानाकर्षण भएपछि विमानस्थल भन्सार कार्यालयले उक्त सामान स्वीकार गर्न अस्वीकार गरेको र अन्ततः सम्पूर्ण खेप फिर्ता लगिएको हो।

सूचनास्रोतका अनुसार फिर्ता लगिएको सामानमा खैनी, गुट्खा तथा सुर्तीजन्य वस्तुहरू थिए। कागजी विवरणमा भने फरक वस्तु उल्लेख गरी वास्तविक सामान लुकाएर विदेश पठाउने प्रयास गरिएको दाबी गरिएको छ।

यसअघि बिजशालाले एयरवे बिल नम्बर 160-10074595 अन्तर्गत १८ बोरा ‘जिट खैनी’ र ३८ बोरा ‘भोला गुट्खा’ जापान पठाउने तयारी भइरहेको समाचार प्रकाशित गरेको थियो। सो समाचारमा आवश्यक अन्तःशुल्कसम्बन्धी कागजातबिनै कार्गो प्रक्रिया अघि बढाइएको दाबी गरिएको थियो।

काठमाडौँस्थित एन.के.एन. होल्डिङ्स प्रालि लगायतका कम्पनीहरु लामो समयदेखि यो धन्दामा संलग्न छन् । यो कम्पनी संग्रौला थरका व्यक्तिले चलाइरहेका छन् । उनले निकै ठूलो सिण्डिकेट नै चलाएका स्रोत दाबी गर्छ ।

त्यसपछि सोही कार्गो हङकङ विमानस्थलमा पुगेर ‘Discrepancy-Offload (DIS)’ अवस्थामा अफलोड भएको र त्यसपछिका दिनहरूमा समेत अर्को उडानमार्फत गन्तव्यतर्फ गएको कुनै रेकर्ड नदेखिएको तथ्य सार्वजनिक भएको थियो।

समाचारपछि माथिल्ला निकाय सक्रिय

स्रोतका अनुसार बिजशालामा लगातार समाचार प्रकाशित भएपछि भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गरी कार्गो जाँच तथा सुर्तीजन्य वस्तुको निर्यात प्रक्रियामा विशेष सतर्कता अपनाउन निर्देशन दिएको थियो।

त्यसपछि पुनः विदेश पठाउन तयारी गरिएको करिब ७० बोरा सामान भन्सारले लिनै नमानेको स्रोतको दाबी छ।

स्रोतले बिजशालासँग भन्यो, “यदि सबै प्रक्रिया कानूनी र पारदर्शी भएको भए सामान किन फिर्ता लैजानुपर्थ्यो ? भन्सारले लिन नमानेपछि उनीहरूले पुनः बाहिर लगेर फर्काएका छन्।”

जफत हुनुपर्ने कि फिर्ता ?

घटनाको अर्को गम्भीर पक्ष भनेको भन्सार क्षेत्रभित्र प्रवेश गरिसकेको भनिएको सामान पुनः बाहिर लगिएको विषय हो।

भन्सार प्रशासनसँग निकट स्रोतहरूका अनुसार भन्सार नियन्त्रण क्षेत्रभित्र प्रवेश गरिसकेको र निर्यात प्रक्रिया अघि बढिसकेको सामानमा गम्भीर कैफियत भेटिएमा सामान्यतया जफत गरी अनुसन्धानको दायरामा ल्याइन्छ। तर यस घटनामा भने सामान जफत नभई फिर्ता लगिएको दाबी गरिएको छ।

यसले पनि थप प्रश्नहरू जन्माएको छ।

यदि सामान कानूनी रूपमा निर्यातयोग्य थियो भने भन्सारले किन अस्वीकार गर्‍यो ? र यदि सामानमा कैफियत थियो भने त्यसलाई जफत गरेर अनुसन्धान किन गरिएन ?

के एउटै नेटवर्क पुनः सक्रिय छ ?

बिजशालाले यसअघि सार्वजनिक गरेका समाचारहरूमा एन.के.एन. होल्डिङ्स प्रालिको नाम आपूर्तिकर्ताका रूपमा देखिएको थियो भने जापानस्थित पूर्णा ट्रेडिङ कन्साइनी रहेको विवरण प्राप्त भएको थियो।

नयाँ घटनामा पनि सोही समूह तथा सोही नेटवर्कसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको दाबी स्रोतले गरेको छ।

यसले त्रिभुवन विमानस्थलको कार्गो प्रणाली प्रयोग गरेर लामो समयदेखि सुर्तीजन्य वस्तु विदेश पठाउने संगठित नेटवर्क सक्रिय रहेको आशंकालाई थप बलियो बनाएको छ।

भन्सार कर्मचारीमाथि पनि अनुसन्धान आवश्यक

सूचनास्रोतका अनुसार तस्करी प्रयास गर्ने समूहले यसपटक पनि भन्सार अधिकारीहरूलाई सामान पठाउन मिल्ने भन्दै दबाब सिर्जना गर्न खोजेको थियो।

“केही कर्मचारीको मिलेमतो नभएको भए यति लामो समयसम्म यस्ता गतिविधि सम्भव हुने थिएनन्,” स्रोतको दाबी छ।

यस कारण अब अनुसन्धानको दायरा सामान पठाउने कम्पनीमा मात्र सीमित नराखी, त्यसलाई सहज बनाउने सम्भावित भन्सार कर्मचारी तथा कार्गो प्रक्रियासँग जोडिएका व्यक्तिहरूसम्म विस्तार गर्नुपर्ने माग उठ्न थालेको छ।

मुख्य प्रश्नहरू अझै अनुत्तरित

यो घटनापछि केही गम्भीर प्रश्नहरू उठेका छन्-

-हङकङमा अफलोड भएको पहिलो खेप अहिले कहाँ छ ?

-आवश्यक कागजातबिनै कार्गो प्रक्रिया कसरी अघि बढ्यो ?

-७० बोरा नयाँ खेप किन फिर्ता लगियो ?

-भन्सारले जफत गर्नुको सट्टा फिर्ता लैजान किन दियो ?

-सामान पठाउने कम्पनीमाथि छानबिन कहिले हुन्छ ?

-सम्भावित मिलेमतोमा संलग्न कर्मचारीहरू पहिचान गरिने कि गरिने छैन ?

बिजशालाको समाचारपछि तत्काल अर्को खेप रोकिएको देखिए पनि यो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो प्रणाली, भन्सार निगरानी र राजस्व प्रशासनभित्रको सम्भावित कमजोरीमाथि थप गम्भीर प्रश्न खडा गरेको छ। अब सम्बन्धित निकायले केवल एउटा खेप रोकिएकोमा सीमित नरही, लामो समयदेखि सञ्चालनमा रहेको भनिएको सम्पूर्ण नेटवर्कको अनुसन्धान गर्नु आवश्यक देखिएको छ।

यसअघि प्रकाशित समाचारहरु :

१.अबैध खैनी-गुट्खा बोकेको विवादित कार्गो हङकङमा अफलोड, ३ दिन बित्दा पनि देखिएन अर्को उडानको रेकर्ड

२.ब्रेकिङः चुरोटपछि खैनी–गुट्खा तस्करीको नयाँ खेप उड्दै ? त्रिभुवन विमानस्थलबाट जापान पठाउने तयारीबारे गोप्य सूचना

३.विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.