काठमाण्डौ । विश्वभर विद्युतीय सवारी साधन (ईभी) को माग लगातार चौथो महिनामा पनि बढेको छ। तर क्षेत्रअनुसार बजारको अवस्था फरक देखिएको छ। बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) को तथ्यांकअनुसार, जुन महिनामा ब्याट्रीबाट चल्ने ईभी र प्लग–इन हाइब्रिड सवारीको विश्वव्यापी रजिष्ट्रेशन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले बढेर करिब २० लाख युनिट पुगेको छ।
चालु वर्षको पहिलो ६ महिनामा भने कुल वृद्धि २ प्रतिशत रहेको छ।
युरोप ईभी बजारको प्रमुख वृद्धिको केन्द्र बनेको छ। जुन महिनामा युरोपमा विद्युतीय सवारीको दर्ता ३१ प्रतिशतले बढेर करिब ५ लाख ३० हजार युनिट पुगेको छ, यो जुन महिनाका लागि अहिलेसम्मकै उच्च स्तर हो। बीएमआईका अनुसार, हाल विश्वव्यापी ईभी वृद्धिको मुख्य बजार युरोप बनेको छ।
यसको विपरीत, चीनको ईभी बजारमा भने सुस्तता देखिएको छ। चीनमा जुन महिनाको विद्युतीय सवारी दर्ता ११ प्रतिशतले घटेर करिब १० लाख युनिटमा सीमित भएको छ। घरेलु माग कमजोर बनेपछि चिनियाँ अटो निर्माता कम्पनीहरूले अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिन थालेका छन्।
उत्तर अमेरिकामा पनि ईभी बिक्री घटेको छ। अमेरिकामा विद्युतीय सवारीका लागि दिइँदै आएको कर छुट समाप्त भएपछि क्षेत्रीय दर्ता १३ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ।

