काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको पूर्ण भरिएको खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ।
निगमले सार्वजनिक सूचना जारी गर्दै ग्यास उद्योगी तथा विक्रेतालाई साविकबमोजिम प्रतिसिलिन्डर १४.२ केजी ग्यास भरी बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको हो। पूर्ण सिलिन्डर ग्यासको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
यसअघि ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन सहज बनाउने भन्दै निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी अर्थात् आधा सिलिन्डर मात्रै भरेर बिक्री गर्दै आएको थियो। अब भने उपभोक्ताले साविककै परिमाणमा पूर्ण सिलिन्डर खरिद गर्न पाउनेछन्।
यद्यपि बजारमा यसअघि नै पठाइएका ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म आधा र पूरा दुवै परिमाणका सिलिन्डर बिक्री हुने निगमले स्पष्ट पारेको छ।
निगमको निर्णयसँगै लामो समयदेखि आधा सिलिन्डर मात्रै खरिद गर्न बाध्य उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। पूर्ण सिलिन्डर बिक्री पुनः सुरु भएपछि ग्यास खरिदका लागि पटक–पटक विक्रेताकहाँ पुग्नुपर्ने समस्या पनि केही कम हुने देखिएको छ।
निगमले ग्यास उद्योग तथा विक्रेतालाई तोकिएको तौल र मूल्यअनुसार मात्रै ग्यास बिक्री गर्न तथा उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

