काठमाण्डौ । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणालीमा एकरूपता ल्याउन लेटरग्रेडिङसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार विद्यालयमा कम्तीमा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउनेछन्।
शिक्षा मन्त्रालयले विद्यालय तहका परीक्षामा अपनाइँदै आएको फरक–फरक ग्रेडिङ प्रणाली हटाउँदै सबै कक्षामा समान मूल्यांकन पद्धति लागू गर्न निर्देशिका ल्याएको हो। परीक्षाका कारण विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक दबाब र त्रास कम गर्नु पनि निर्देशिकाको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
यसअघि कक्षा ९ सम्मका विद्यार्थीको ग्रेडिङ विद्यालयहरूले आफ्नै तरिकाले गर्दै आएका थिए। कक्षा १० र १२ मा भने राष्ट्रिय परीक्षा बोर्डले तोकेको ग्रेडिङ प्रणाली लागू हुँदै आएको थियो। नयाँ निर्देशिका कार्यान्वयनपछि सबै तहमा एउटै प्रकारको ग्रेडिङ प्रणाली अपनाइनेछ।
निर्देशिकाले विद्यार्थीको उपलब्धिलाई ३५ अंकदेखि १०० अंकसम्मका आधारमा आठ वर्गमा विभाजन गरेको छ। परीक्षामा सहभागी हुन विद्यार्थीको कक्षागत हाजिरी कम्तीमा ७५ प्रतिशत पुगेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
कक्षा ५ सम्म परीक्षामार्फत विद्यार्थीको मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ। ती कक्षामा निरन्तर मूल्यांकन र सिकाइ उपलब्धिका आधारमा विद्यार्थीको प्रगति मापन गरिनेछ।
नयाँ निर्देशिकाअनुसार विद्यालय तहमा एउटा कक्षा अवधि ६० मिनेटको हुनेछ। विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी कक्षा सञ्चालनको समय व्यवस्थापन गर्न सक्नेछन्।
त्यसैगरी, अतिरिक्त समयमा सञ्चालन गरिएका सिकाइसम्बन्धी गतिविधिलाई समेत विद्यालयको वार्षिक कार्यघण्टामा गणना गर्न सकिने व्यवस्था गरिएको छ।

