काठमाण्डौ । दिल्ली विश्वविद्यालयपछि अब जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) ले पनि आफ्ना विद्यार्थी तथा शैक्षिक समुदायका सदस्यहरूलाई नयाँ दिल्लीस्थित जन्तर–मन्तर वा त्यस आसपास आयोजना हुने प्रदर्शन तथा भेलामा सहभागी नहुन आग्रह गरेको छ।
विश्वविद्यालयले उक्त निर्देशन उल्लंघन गरे कानूनी तथा विश्वविद्यालयको आचारसंहिता अनुसार अनुशासनात्मक कारबाही हुन सक्ने चेतावनी दिएको छ।
जेएनयूले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा विद्यार्थी तथा शैक्षिक समुदायलाई जिम्मेवारीपूर्वक व्यवहार गर्न र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
साथै, भारतको सर्वोच्च अदालतले सार्वजनिक प्रदर्शन सम्बन्धी जारी गरेका निर्देशिकाको पालना गर्दै जन्तर–मन्तर वा त्यस आसपास हुने कुनै पनि सभामा सहभागी नहुन अनुरोध गरिएको छ।
विश्वविद्यालयले सामाजिक सञ्जालको प्रयोग पनि जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूविरुद्ध प्रचलित कानूनअनुसार कारबाही गरिनुका साथै विश्वविद्यालयको अनुशासनात्मक व्यवस्था पनि लागू गरिने जनाएको छ।
यसअघि दिल्ली विश्वविद्यालयले पनि आफ्ना विद्यार्थीहरूलाई जन्तर–मन्तरमा हुने प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएको थियो। उक्त निर्देशनपछि भारतका लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले विश्वविद्यालयले विद्यार्थीलाई ‘धम्की दिन नमिल्ने’ प्रतिक्रिया दिएका थिए।

