काठमाण्डौ । अमेरिकी स्वास्थ्य सेवा क्षेत्रको प्रमुख कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो टाल्कयुक्त बेबी पाउडर तथा अन्य उत्पादनले अण्डाशयको क्यान्सर गराएको आरोपमा परेका हजारौँ मुद्दा समाधान गर्न ५ अर्ब ५० करोड अमेरिकी डलरसम्म तिर्न प्रस्ताव गरेको छ।
न्यु जर्सीमा मुख्यालय रहेको जे एन्ड जे विरुद्ध अमेरिकामा लामो समयदेखि चलिरहेको कानूनी विवाद अन्त्य गर्ने उद्देश्यले यो प्रस्ताव ल्याइएको हो। टाल्कसम्बन्धी मुद्दाहरूले कम्पनीमाथि वर्षौँदेखि कानूनी र आर्थिक दबाब सिर्जना गर्दै आएका छन्।
कम्पनीले आफ्ना टाल्कमा आधारित उत्पादनले क्यान्सर गराएको आरोपलाई अस्वीकार गर्दै आएको छ। जे एन्ड जेका मुद्दा मामिला हेर्ने उपाध्यक्ष एरिक हासले आरोपहरू आधारहीन रहेको बताउँदै विवाद अन्त्य गर्नका लागि सम्झौताको बाटो रोजिएको बताएका छन्।
कम्पनीका अनुसार प्रस्तावित सम्झौताले करिब ६९ हजार वटा मुद्दा समेट्नेछ, जुन बाँकी रहेका अधिकांश टाल्कसम्बन्धी दाबीहरू हुन्। जे एन्ड जेले आगामी वर्ष अधिकतम ३ अर्ब डलर तिर्ने योजना बनाएको छ भने सन् २०२८ अघि थप भुक्तानी गर्नुपर्ने छैन।
यो सम्झौता लागू हुन अमेरिकाका राज्य तथा संघीय अदालतमा रहेका अण्डाशयको क्यान्सरसँग सम्बन्धित दाबीमध्ये ९५ प्रतिशत मुद्दाको प्रतिनिधित्व गर्ने कानूनी टोलीहरूको स्वीकृति आवश्यक पर्नेछ।
एरिक हासले कम्पनीले थप कानूनी प्रक्रिया अघि बढाएको भए पनि अधिकांश मुद्दामा आफूहरू सफल हुने विश्वास रहेको बताए। उनले यो समाधानले कम्पनीलाई लामो समयदेखि चलेको विवादबाट मुक्त भई जीवनरक्षक औषधि र स्वास्थ्य उपकरण विकासमा केन्द्रित हुन सहयोग गर्ने बताए।
जे एन्ड जेको पूर्व उपभोक्ता स्वास्थ्य व्यवसाय केनभ्यु ले उत्तर अमेरिकाबाहिर जोन्सन बेबी पाउडरसँग सम्बन्धित दायित्व वहन गरिरहेको छ। केनभ्युलाई सन् २०२२ मा जे एन्ड जेबाट छुट्टै कम्पनीका रूपमा स्थापना गरिएको थियो। यस कम्पनीअन्तर्गत ब्यान्ड–एड, लिस्टेरिन र क्याल्पोलजस्ता प्रसिद्ध ब्रान्डहरू रहेका छन्।
जे एन्ड जेविरुद्ध टाल्कयुक्त बेबी पाउडरसम्बन्धी मुद्दा सन् २००९ देखि सुरु भएका थिए। उपभोक्ता तथा मृतकका परिवारहरूले टाल्कमा एस्बेस्टस मिसिएको हुन सक्ने र त्यसले क्यान्सर निम्त्याएको दाबी गर्दै मुद्दा दायर गरेका थिए।
टाल्क पृथ्वीबाट निकालिने प्राकृतिक खनिज हो, जसमा म्याग्नेसियम, सिलिकन, अक्सिजन र हाइड्रोजन पाइन्छ। यसको चिप्लोपनका कारण यसलाई लामो समयदेखि बेबी पाउडरलगायत विभिन्न उत्पादनमा प्रयोग गरिँदै आएको छ।
वैज्ञानिक र कानूनी विवादको मुख्य विषय टाल्क उत्खनन हुने क्षेत्र एस्बेस्टस पाइने क्षेत्रसँग नजिक हुन सक्ने सम्भावना हो। एस्बेस्टसलाई क्यान्सर गराउने पदार्थका रूपमा मानिन्छ।
जे एन्ड जेले भने आफ्नो उत्पादन सुरक्षित रहेको, टाल्कमा एस्बेस्टस नरहेको र यसले क्यान्सर नहुने बताउँदै आएको छ। कम्पनीले सन् २०२२ मा विश्वभर टाल्कमा आधारित बेबी पाउडर उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको थियो।
कम्पनीले विश्वव्यापी उत्पादन मूल्याङ्कनपछि टाल्कयुक्त पाउडरको सट्टा मकैको स्टार्चबाट बनेको बेबी पाउडर उत्पादनतर्फ जाने व्यावसायिक निर्णय गरिएको जनाएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।