काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजार विकास मार्गचित्र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको छ। बोर्डले मार्गचित्रमा समेटिएका योजनालाई व्यवहारमा लागू गर्न आवश्यक कार्ययोजना तयार गरेको हो।
सेबोनका विभिन्न विभागले मार्गचित्र कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्ययोजना तयार पारेका छन्। बोर्ड स्रोतका अनुसार अब तयार गरिएको कार्ययोजना छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।
बोर्डका अनुसार मार्गचित्र कार्यान्वयनका लागि कार्ययोजना तयार पारिएको छ । साथै कार्ययोजनाअनुरुप केही नियमावली संशोधनका लागि अर्थमन्त्रालयमा पठाउने तयारी गरिएको बोर्डले जनाएको छ ।
सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले करिब दुई साताअघि नेपालको पूँजीबजार विकासका लागि १० वर्षे मार्गचित्र सार्वजनिक गरेका थिए। उक्त मार्गचित्रमा नीतिगत, कानुनी तथा प्राविधिक सुधारका विषयलाई समयसीमासहित समेटिएको छ।
मार्गचित्रमा नेपालको पूँजीबजारलाई थप विस्तार र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। यसअन्तर्गत दैनिक सेयर कारोबार रकम ३० अर्ब रुपैयाँसम्म पुर्याउने, बजार पुँजीकरणलाई अर्थतन्त्रको आकारको तुलनामा १५० प्रतिशतसम्म विस्तार गर्ने तथा सूचीकृत कम्पनीको संख्या ५०० पुर्याउने लक्ष्य राखिएको छ।
दैनिक ३० अर्ब कारोबारको लक्ष्य कति सम्भव ?
अहिलेको नेपालको पूँजीबजारको आकार र कारोबार अवस्थालाई हेर्दा दैनिक ३० अर्ब रुपैयाँको सेयर कारोबार हुन ठूलो चूनौतीपूर्ण देखिन्छ । यो लक्ष्य पुरा हुन धेरे संरचनागत सुधार आवश्यक देखिन्छ ।
नेपाल धितोपत्र बोर्डले बजारमा सुधार ल्याउन र दैनिक कारोबार बढाउन गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालको पूँजीबजारमा भित्र्याउने तयारी गरेको छ । यहि विषयमा बोर्डका अध्यक्ष र एनआरएनका प्रतिनिधिहरुबीच छलफल तथा अन्तरक्रिया समेत भइसकेको छ ।
एनआरएनलाई सहज रुपमा पूँजीबजारमा प्रवेश गराईएपनि दैनिक ३० अर्ब कारोबार लक्ष्य पुरा हुन असम्भव जस्तै देखिन्छ । यसका लागि बजार पूँजीकरण र लगानीकर्ताको आधार बढ्नुपर्ने देखिन्छ ।
धितोपत्र बोर्डले कारोबार बढाउन संस्थागत लगानीकर्ता बैंक, बीमा कम्पनी, हाइड्रो कम्पनी, उत्पादनमूलक क्षेत्रका ठूला कम्पनीहरुको सहभागीता उल्लेख्य बढाउनुपर्ने देखिन्छ । साथै बण्ड, डेरिभेटिभ, इटीएफ जस्ता नयाँ वित्तीय उपकरण विकास भएमा केही हदसम्म बजारको कारोबार बढ्न सक्ने सम्भावना भने रहन्छ ।
३० अर्ब दैनिक कारोबारको लक्ष्य महत्वाकांक्षी भए पनि असम्भव नै भने होइन । तर यसका लागि केवल लगानीकर्ता संख्या बढाएर पुग्दैन । बजारको आकार, कम्पनी संख्या, संस्थागत लगानी, प्रविधि र नियामकीय सुधार सबै सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ ।

