काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको १२ लाख कित्ता संस्थापक सेयर नागरिक लगानी कोषले खरिद गर्ने भएको छ।
कम्पनीका संस्थापक सेयरधनी कृति कुमारी महतोले बिक्री गर्न चाहेको १२ लाख कित्ता संस्थापक सेयर खरिदका लागि नागरिक लगानी कोषले आवेदन दिएको हो। उक्त सेयर खरिद प्रक्रिया अघि बढाउन नेको इन्स्योरेन्सले आवश्यक स्वीकृतिका लागि नियामकीय प्रक्रिया समेत अघि बढाएको छ।
फाइलमा संलग्न खरिद दरखास्त फारमअनुसार नागरिक लगानी कोषले प्रतिकित्ता २३२ रुपैयाँका दरले सेयर खरिद गर्न प्रस्ताव गरेको छ। यस आधारमा १२ लाख कित्ता सेयर खरिदका लागि कुल २७ करोड ८४ लाख रुपैयाँ लगानी हुने देखिन्छ।
नेको इन्स्योरेन्सले संस्थापक सेयर खरिद–बिक्री तथा नामसारीका लागि नेपाल बीमा प्राधिकरणसमक्ष स्वीकृति मागेको छ। कम्पनीले संस्थापक सेयर बिक्रीसम्बन्धी प्रक्रिया पूरा भएपछि नामसारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।
नागरिक लगानी कोषले पनि नेको इन्स्योरेन्सलाई पत्र पठाउँदै प्रकाशित संस्थापक सेयर बिक्री सूचनाअनुसार सेयर खरिदका लागि आवेदन फारम पठाएको उल्लेख गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।