काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने असोज मसान्तसम्म रहेकाले शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई नेप्सेले समयमै शुल्क बुझाउन भनेको हो ।
नेप्सेका अनुसार सूचीकृत कम्पनी अर्थात् धितोपत्रको वार्षिक नवीकरण शुल्क हकमा ५० करोड रुपैयाँ चुक्तापूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ वार्षिक शुल्क र ५० करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी भएका कम्पनीले १ लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्नेछ ।
यता डिबेञ्चर/म्युचुअल फण्ड (सामूहिक लगानी कोष)को वार्षिक नवीकरण शुल्कको हकमा भने ५० करोड रुपैयाँ चुक्तापूँजी भएका कोषले २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका फण्ड वा डिबेञ्चरले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्नेछ ।
नेप्सेले उक्त शुल्क आफ्नो खाता रहेको बैंक ग्लोबल आइएमई बैंकमा जम्मा गर्न अनुरोध गरेको छ । नेप्सेका अनुसार खाताको नाम ‘नेप्से अपरेटिङ अकाउन्ट’ मा खाता नम्बर ०७५०१०१००००७७५ मा शुल्क जम्मा गरी भौचर नेप्सेले इमलेमा पठाउन सकिनेछ ।
साथै तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।