काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि निरन्तर रहने देखिएको हो।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बागमती, कर्णाली तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
महाशाखाले लगातारको वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।