काठमाण्डौ । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। प्रदेशमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको कम्पनीले जनाएको छ।
नयाँ कार्यालयबाट गण्डकी प्रदेशका ग्राहकले बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा ग्राहक सेवासहितका सुविधा स्थानीय स्तरमै प्राप्त गर्न सक्नेछन्। यसैगरी, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराई सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने कम्पनीको लक्ष्य छ।
प्रदेश कार्यालयको उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रसहित मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा कार्यालय स्थापना हुनु कम्पनीको यस क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको बताए।
उनले भने, ‘गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त र उद्यमशील व्यक्ति, परिवार तथा व्यवसायहरूको प्रदेश हो, जसले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। यहाँ प्रदेश कार्यालय स्थापना गर्नु यस क्षेत्रप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो।’
श्रेष्ठका अनुसार बीमा सेवा सबैका लागि सहज रूपमा पहुँचयोग्य र ग्राहकको आवश्यकताअनुसार उपयोगी हुन आवश्यक छ। नयाँ कार्यालयमार्फत ग्राहकसँग अझ नजिक भएर उनीहरूको आर्थिक भविष्यलाई सुरक्षित र आत्मविश्वासी बनाउन योगदान पुर्याउने उनले बताए।
कम्पनीका अनुसार गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि, प्रदेशभरका व्यावसायिक संस्था तथा विभिन्न निकायसँगको सहकार्य विस्तार र ग्राहक सेवा प्रवाहमा थप सुधार हुने विश्वास कम्पनीले लिएको छ।
गण्डकी प्रदेशमा कार्यालय विस्तारसँगै मेटलाइफ नेपालले देशभरका व्यक्ति, परिवार तथा व्यवसायलाई भरपर्दो बीमा सुरक्षा र आर्थिक सुरक्षासम्बन्धी सेवा अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।