काठमाण्डौ । सेयरबजारलाई नजिकबाट बुझ्न चाहने विद्यार्थीका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘भिजिट नेप्से’ कार्यक्रममार्फत पूँजीबजारको प्रत्यक्ष अवलोकन र सिकाइको अवसर खुला गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालय तथा क्याम्पसलाई दर्ताका लागि आवेदन दिन आग्रह गरेको छ ।
विद्यार्थीलाई पूँजीबजारको कार्यप्रणाली, सेयर कारोबार तथा लगानीका विभिन्न पक्षबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले नेप्सेले लामो समयदेखि अवलोकन भ्रमण तथा अन्तक्र्रियामा आधारित ‘भिजिट नेप्से’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन इच्छुक शैक्षिक संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ ९ गतेसम्म आवेदन दिनुपर्नेछ ।
इच्छुक विद्यालय तथा क्याम्पसले नेप्सेको इमेल [email protected] मार्फत दर्ता गर्न सक्नेछन् । दर्ताका क्रममा संस्थाको नाम र ठेगाना, कार्यक्रममा सहभागी हुने अनुमानित विद्यार्थी संख्या, भ्रमणका लागि प्रस्तावित मिति, विद्यार्थीको कक्षा वा तह तथा सम्पर्क व्यक्तिको नाम र फोन नम्बरलगायतका विवरण उपलब्ध गराउनुपर्नेछ ।
नेप्सेका अनुसार ‘भिजिट नेप्से’ जस्ता कार्यक्रमले विद्यार्थीमा पूँजी बजारप्रति रुचि बढाउनुका साथै वित्तीय साक्षरता अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।