बुधबार, भाद्र १०,२०८३ 09:43:50
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 09:43:50
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीमा ५० भन्दा बढीको मृत्यु, २५० बढीको उद्धार : प्रधानमन्त्री शाह

रातभर खोज तथा उद्धार जारी रहने, घाइतेको निःशुल्क उपचारदेखि विस्थापितको पुनःस्थापनासम्मको जिम्मा सरकारले लिने घोषणा

भोटेकोशी बाढीमा ५० भन्दा बढीको मृत्यु, २५० बढीको उद्धार : प्रधानमन्त्री शाह
New Office

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। दिनभर उद्धार तथा राहतका काममा सरकारले गरेका प्रयासबारे जानकारी दिँदै उनले नेपाली सेनाको हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र खोज तथा उद्धार कार्य रातभर पनि जारी रहने बताएका हुन्।

मंगलबार साँझ नागरिकका नाममा वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिले सिङ्गो देशलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’

Bizshala
CG Motors

प्रधानमन्त्रीका अनुसार बाढीको खबर प्राप्त भएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो। त्यसपछि राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठकसमेत बसेर खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।

प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। सेनाको हेलिकप्टरबाट उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार थालिएको छ।

उनले अहिले सरकारको पहिलो प्राथमिकता घाइतेहरूको जीवनरक्षा, बेपत्ताको खोजी तथा प्रभावित नागरिकको सुरक्षा रहेको बताएका छन्। घाइतेको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा एक सय शय्या छुट्याइएको छ। काठमाडौं उपत्यकाका अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ।

प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटाएर प्राथमिक उपचार तथा उद्धारको काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। राष्ट्रिय ट्रमा सेन्टर र सुरक्षा निकायहरूबाट चिकित्सकसहितका टोली पठाइएको छ। नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको उनको भनाइ छ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संस्थासँग निरन्तर समन्वय भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

बाढी प्रभावित क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग पनि परामर्श भइरहेको उल्लेख गर्दै उनले स्थानीय तहमा आवश्यकताका आधारमा सहायता उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। घाइते तथा बेपत्ताको विवरण संकलन गर्ने काम जारी रहेकाले मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।

यी क्षेत्रका पीडित परिवारलाई खाना, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल उपलब्ध गराइने उनले बताएका छन्। बाढीले क्षति पुर्‍याएका सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्दै विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने सरकारको प्रतिबद्धता छ।

बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाइने र क्षतिको विस्तृत विवरण संकलन गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन्। उद्धार तथा राहत कार्य रातभर सञ्चालन हुने बताउँदै उनले प्रभावित नागरिकलाई धैर्य राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को घडीमा राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आमनागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.