काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन संवाद भएको छ। संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अष्ट्रेलियाली समकक्षीसँग भएको कुराकानी महत्वपूर्ण रहेको बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्री शाहले विपद्को समयमा उद्धार तथा राहत कार्यका लागि अष्ट्रेलिया सरकारले गरेको सहयोगको प्रशंसा गरे । विशेषगरी विशेषज्ञसहितको ड्रोन अपरेटर टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा उहाँले अष्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरे।
बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्यमा सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री शाहले बताए। बेपत्ताको खोजीलाई तीव्र पारिएको जानकारी दिँदै उहाँले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलिया सरकारसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा अष्ट्रेलियाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए।
टेलिफोन संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले हिमबाढीबाट नेपालमा भएको क्षतिप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै अष्ट्रेलिया सरकारका तर्फबाट समवेदना प्रकट गरे।
अष्ट्रेलियास्थित प्रधानमन्त्रीको कार्यालय तथा नेपालस्थित अष्ट्रेलियाली दूतावासका अनुसार अल्बानिजले सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया नेपालसँगै रहेको उल्लेख गर्दै मानवीय सहायता सामग्री, उपकरण तथा विशेष क्षमतामार्फत अत्यावश्यक स्थानमा सहयोग उपलब्ध गराइरहेको बताए ।
हिमबाढीबाट भएको जनधनको क्षति अत्यन्तै मर्माहत पार्ने रहेको उल्लेख गर्दै अल्बानिजले अझै सम्पर्कविहीन रहेका अष्ट्रेलियाली नागरिकको खोजीका लागि आवश्यक सबै सहयोग गर्न अष्ट्रेलिया प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।