Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 02:58:01
Bizshala
Global IME Bank Limited

रसुवा बाढीः १ हजार ३५७ जनाको मृत्यु, ५ हजार ३२६ अझै सम्पर्कविहीन

रसुवा बाढीः १ हजार ३५७ जनाको मृत्यु, ५ हजार ३२६ अझै सम्पर्कविहीन
New Office

काठमाण्डौ। रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको जनाएको हो।

प्राधिकरणका अनुसार विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रबाट शव तथा मानव अङ्गहरू फेला पर्ने क्रम जारी छ। हालसम्म चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्ग फेला परेका छन्।

फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि हालसम्म ५ हजार ३२६ जना मानिस सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन्।

बेपत्ता हुनेमा रसुवाका १ हजार ३९३ जना, अन्य जिल्लाका १ हजार २८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी रहेका छन्।

यस्तै, नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार गरिएको छ। जसमध्ये नेपाली सेनामार्फत ३ हजार ४०४ जना, सशस्त्र प्रहरी बलमार्फत ३ हजार ९६ जना र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। अस्पतालमा उपचाररत घाइतेमध्ये २४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।

हवाई उद्धार तथा राहत वितरणका लागि नेपाली सेनाले १ हजार १५७ पटक, निजी क्षेत्रले काठमाडौँबाट १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बाढीका कारण विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न विभिन्न जिल्लामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको प्राधिकरणले जनाएको छ।

सरकारले राहतका लागि रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ वटा स्थानीय तहलाई भने कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत प्रदान गरिएको छ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सरकारले ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन तथा ४५७ सिलिन्डर ग्यास पठाएको छ।

बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिरहेको छ।

बाढी तथा पहिरोका कारण प्रभावित विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित भइरहेको छ। प्राधिकरणका अनुसार धादिङमा ९९।८ प्रतिशत, नुवाकोटमा ९६।७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भइसकेको छ।

विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापनामा सरकार तथा सम्बन्धित निकायहरू केन्द्रित रहेको प्राधिकरणले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.