Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 05:29:31
Bizshala
Global IME Bank Limited

१० कित्ते नीतिको बचाउमा लगानीकर्ता, ‘बुक बिल्डिङका नाममा महँगो सेयर नभिडाऔँ’

१० कित्ते नीतिको बचाउमा लगानीकर्ता, ‘बुक बिल्डिङका नाममा महँगो सेयर नभिडाऔँ’
New Office

काठमाण्डौ । पछिल्लो समय सेयर लगानीकर्ताबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लागू हुँदै आएको १० कित्ता नीतिलाई लिएर बहस चर्किएको छ । केही लगानीकर्ताले आईपीओमा १० कित्ते आवेदन प्रणाली खारेज गर्नुपर्ने तर्क गरिरहेका छन् भने अर्को समूहले भने यो नीति हटाउन नहुने बताएको छ ।

विशेषगरी बजारका केही अगुवा लगानीकर्ताहरुले १० कित्ता नीति पूँजीबजारका लागि घातक रहेको र बजारमा देखिएको समस्यामध्ये यो पनि एक प्रमुख कारण भएको तर्क गर्दै आएका छन् । उनीहरूको यस्तो किसिमको धारणा सार्वजनिक भएपछि १० कित्ता नीतिको पक्ष र विपक्षमा लगानीकर्ताबीच बहस थप चर्किएको हो ।

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भने १० कित्ता नीति खारेज गर्न नहुने पक्षमा छन् । उनका अनुसार यो नीतिले महिला, विद्यार्थी तथा न्यून आय भएका नागरिकलाई समेत पूँजीबजारमा प्रवेश गर्ने अवसर दिएको छ ।

पाण्डेले सामाजिक सञ्जालमार्फत १० कित्ते नीतिलाई पूँजीबजारको विकासको बाधकका रूपमा चित्रण गर्नु उपयुक्त नभएको बताएका छन् । उनले बजारमा १० कित्ताको आईपीओ आपूर्ति नै व्यवस्थापन गर्न नसक्ने अवस्थामा न्यूनतम ५० कित्ताको आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नसमेत उठाएका छन् ।

साथै १० कित्ता आईपीओमा आवेदन दिने सर्वसाधारणले अहिलेसम्म ठूलो घाटा बेहोर्नुपरेको अवस्था नरहेको उनको तर्क छ । बरु यो व्यवस्था न्यून तथा मध्यम आय भएका परिवारका लागि पूँजीबजारमा प्रवेश गर्ने माध्यम बनेको उनको दाबी छ ।

‘१० कित्ताले नागरिकलाई कम्पनीको मालिक बनाउँछ,’ पाण्डेले भनेका छन् । उनका अनुसार १० कित्ते नीति हटाउँदा पूँजीबजारमा सर्वसाधारण नागरिकको पहुँच थप सीमित हुन सक्छ । उनले बरु हालको व्यवस्थालाई विस्तार गर्दै ५ कित्तासम्म पनि आवेदन दिन सक्ने व्यवस्था गर्न सकिने धारणा अघि सारेका छन् ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यता लगानीकर्ता खोमनाथ प्याकुरेलले भने पछिल्लो समय आईपीओ निष्कासनलाई प्राथमिकता दिँदै १० कित्ता नीति हटाउने बहस अघि बढाइएकोप्रति प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै कम्पनीहरूको आईपीओ सूचीकरणपछि सर्वसाधारणलाई सेयर बिक्री गरेर बाहिरिने प्रवृत्तिमाथि समेत प्रश्न गरेका छन् ।

आईपीओ निष्कासन तथा बुक बिल्डिङ प्रणालीको विषय पनि यही बहससँग जोडिएको छ । केही लगानीकर्ताले पूँजीबजारको विकासका लागि बुक बिल्डिङ प्रणालीबाट आईपीओ ल्याउनुपर्ने धारणा राख्दै आएका छन् । तर, यसको विपक्षमा रहेका लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय अवस्था र मूल्यांकनलाई ध्यान नदिई महँगो मूल्यमा सेयर बिक्री गर्ने जोखिम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

महिला लगानीकर्ता पवित्रा ज्ञवाली सिग्देलले पनि १० कित्ते नीति हटाएर बुक बिल्डिङको नाममा सर्वसाधारणलाई महँगो मूल्यको सेयर भिडाउने खेल बन्द गर्न माग राखेकी छिन् । ‘कागजी नाफा देखाएर मूल्य बढाउने कम्पनीको जोखिम अन्ततः सर्वसाधारणकै टाउकोमा पर्छ’ उनले भनिन्, ‘१० कित्ताले नागरिकलाई बजारमा प्रवेश गराएको छ, बुक बिल्डिङले कसको खल्ती भरिन्छ ? पूँजीबजार केही ठूला खेलाडीको मात्र होइन, सामान्य लगानीकर्ता जनताको पनि हो ।’

साथै उनले यो नीति खारेज गर्नु नागरिकको पहुँच नै खुम्च्याउनु बराबर रहेको बताएकी छिन् ।  

१० कित्ता नीति हटाउने वा कायम राख्ने बहसले नेपालको पूँजीबजारमा सर्वसाधारणको पहुँच, आईपीओको मूल्य निर्धारण, कम्पनीको वास्तविक मूल्यांकन तथा संस्थागत लगानीकर्ताको भूमिकाजस्ता विषयलाई समेत पुनः बहसमा ल्याएको छ ।

एकातर्फ १० कित्ते व्यवस्थाले बजारमा अत्यधिक आवेदन र आईपीओ बाँडफाँडपछि सीमित परिमाणमा सेयर प्राप्त हुने अवस्था सिर्जना गरेको तर्क छ भने अर्कोतर्फ यही व्यवस्थाले न्यून आय भएका नागरिकलाई समेत पूँजीबजारमा सहभागी हुने अवसर दिएको पक्षधरहरूको भनाइ छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.