काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका नौ वटा नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा दुई वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि कोषमा थप रु। ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको कार्यालयले जनाएको छ। उक्त रकम विपद्अघिको कोषमा रहेको रु। २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।
भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। यसैबीच, बाढी तथा अन्य विपद्बाट प्रभावितको राहत तथा उद्धारका लागि भदौ १६ गते रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।
अर्थ मन्त्रालयले विपद्बाट प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति, संस्था तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको छ।
सरकारले राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक पोर्टलमार्फत योगदान गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।