काठमाण्डौ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा सात पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित बनेका छन्। पटक–पटक आएको भूकम्पले सदियौँ पुराना माटोका घर र ऐतिहासिक संरचनामा ठूलो क्षति पुगेको स्थानीय तहले जनाएको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाभित्रका अधिकांश घरमा चिरा परेको छ भने धेरै घर तत्काल बसोबास गर्न जोखिमपूर्ण अवस्थामा पुगेका छन्।
ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको लोमान्थाङ माटोका परम्परागत संरचनाका लागि परिचित छ। निरन्तरको भूकम्पले पुराना मात्र नभई नयाँ संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले बताए।
‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ। धेरैजसो घर चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प आयो भने धेरै घर गर्ल्यामगुर्लुम ढल्ने जोखिम छ।’
२० देखि ३० प्रतिशत घर बस्नै अयोग्य
गाउँपालिकाको प्रारम्भिक आकलनअनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बसोबास गर्न अयोग्य भएका छन्।
करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको अनुमान गरिएको छ। गाउँपालिकाले धेरैजसो घरमा कुनै न कुनै प्रकारको चिरा वा संरचनात्मक क्षति देखिएको जनाएको छ।
अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भने नभएको गाउँपालिकाले जनाएको छ।
थप पराकम्पन आए जोखिम अझै बढ्ने
माटोले बनेका पुराना तथा ऐतिहासिक संरचना भएकाले थप भूकम्प वा पराकम्पन आए बाँकी संरचनासमेत भत्किन सक्ने जोखिम रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार क्षतिको वास्तविक अवस्था पत्ता लगाउन प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमा खटिएको छ।
‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले बताए।
वडा–वडामा क्षतिको विवरण संकलन
गाउँपालिकाले प्रभावित क्षेत्रमा घर तथा अन्य संरचनाको क्षति विवरण संकलन गर्न टोली परिचालन गरेको छ।
प्राविधिक टोलीले कुन घर तत्काल खाली गर्नुपर्ने अवस्थामा छ, कुन घर मर्मतपछि बस्न मिल्ने अवस्थामा छ र कुन संरचना पूर्ण रूपमा जोखिममा छ भन्ने वर्गीकरणसमेत गर्ने तयारी गरेको छ।
क्षतिको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयसँगै प्रदेश र संघीय सरकारलाई समेत पठाइएको गाउँपालिकाले जनाएको छ।
पटक–पटकको भूकम्पपछि लोमान्थाङका स्थानीय भने थप धक्का आउने त्रासमा छन्। विशेषगरी माटोका पुराना घरहरू धेरै भएकाले थप भूकम्प आए क्षति अझ ठूलो हुनसक्ने जोखिम देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।