काठमाण्डौ । प्राकृतिक विपद्का कारण अर्थतन्त्रमा परेको क्षतिको मूल्यांकन र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि उपलब्ध वित्तीय स्रोतको अवस्थाबारे प्रतिनिधिसभाको अर्थ समितिले अध्ययन अघि बढाउने भएको छ।
रसुवामा हालै आएको बाढीले पुर्याएको आर्थिक क्षति, त्यसको समग्र अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु परिवर्तनसँग जोडिएका वित्तीय विषयको अध्ययन गर्न समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य छन्।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभावसँगै जलवायु वित्तको अवस्थाबारे अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।