काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ ।
संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जना बाढी प्रभावितलाई संस्थाले भाद्र १७ गते अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बाढीका कारण सस्थाका शाखा कार्यालय वेत्रावती कार्यालय प्रमुख सहित २ जना कर्मचारी हालसम्म सम्पर्क विहीन रहेका छन् । निरन्तरको खोज तथा उद्धार प्रयासका बाबजुद उनीहरूको अवस्था रहेको र सहकर्मीहरू बेपत्ता भएको यस अत्यन्त मर्माहत र पीडादायी घडीमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गरेको हो ।
विदुर नगरपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष इन्द्र प्रसाद अधिकारीको रोहवरमा राहत वितरण कार्य सम्पन्न भएको थियो । क्षतिको अवस्थालाई हेरी प्रभावितहरूलाई ‘अति प्रभावित’ र ‘प्रभावित’ गरी दुई वर्गमा वर्गीकरण गरी राहत सामग्री उपलब्ध गराइएको छ ।
जसअनुसार अति प्रभावितलाई प्रति परिवार/व्यक्ति २५ केजी चामल, २ केजी दाल, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन र १ वटा साबुन वितरण गरिएको थियो भने प्रभावितलाई १२.५ केजी चामल, १ केजी दाल, १ केजी चिउरा, आधा लिटर तेल, १ केजी नुन र आधा साबुन प्रदान गरिएको छ ।
संस्थाले कुल १०० बोरा चामल, २०० केजी दाल, १०० लिटर तेल, २०० केजी चिउरा, १५० केजी नुन र १०० वटा साबुन वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका प्रबन्धक सुमन श्रेष्ठ, इलाका कार्यालय ठिमीका प्रबन्धक लक्ष्मण बस्नेत, शाखा कार्यालय विदुरका प्रबन्धक प्रमोद कुमार सिग्देल र सहायक पुष्पराज अधिकारी आफैं विपद्ग्रस्त क्षेत्रमा पुगी राहत वितरण कार्यमा संलग्न भएका थिए ।
पीडितहरूको घाउमा मल्हम लगाउन संस्था सदैव समुदायको साथमा रहेको र बेपत्ता कर्मचारीहरूको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।