काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक सम्याउने र सवारी आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएपछि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई पास गराइएको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि लामो समयदेखि रोकिएका ग्यास बुलेट र ठूला सवारीलाई मात्रै आवतजावत गराइएको छ।
कृष्णभिरको सडक खण्डमा दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा सवारी चलाउन मिल्ने आधार तयार गरिएको थियो। त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो।
परीक्षण सफल भएपछि ग्यास बुलेट तथा हेभी सवारीलाई क्रमशः पास गराइएको विभागले जनाएको छ।
यद्यपि सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन अझै केही काम बाँकी छ। सडकको भित्तातर्फ नाली निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले उक्त काम सकेपछि बिहीबारदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभिर क्षेत्रमा सडक कटान हुँदा पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि काठमाण्डौ आउने-जाने ठूला तथा साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। विशेषगरी पेट्रोलियम पदार्थ, एलपी ग्यास तथा भारी उपकरण बोकेका सवारी लामो समय रोकिँदा आपूर्ति व्यवस्थामा समेत दबाब परेको थियो।
अब कृष्णभिरबाट ग्यास बुलेट र हेभी सवारी सञ्चालन हुन थालेसँगै आपूर्ति व्यवस्थामा केही सहजता आउने अपेक्षा गरिएको छ।
सडक विभागले बाँकी संरचनागत काम पूरा गरी बिहीबारदेखि सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।