काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट प्रत्यक्ष रूपमा गर्दै आएको खाना पकाउने ग्यास बिक्री–वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि कार्यालयको नियमित काम, रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भई हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री–वितरण नगर्ने जनाएको हो।
कार्यालयले खाना पकाउन कठिनाइ भोगिरहेका डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती तथा साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि ग्यास विक्रेतामार्फत प्रत्यक्ष बिक्री–वितरणको व्यवस्था गरेको थियो।
तर, कार्यालयको नियमित प्रशासनिक कार्यसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन र पहिचान हुन नसकेका शवको व्यवस्थापनमा जनशक्ति परिचालन गर्नुपर्ने भएपछि उक्त व्यवस्था तत्कालका लागि स्थगित गरिएको हो।
कार्यालयले ग्यासको बिक्री–वितरण पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत बिक्री–वितरण भने नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रशासनिक अधिकृत तारानाथ फुँयालद्वारा जारी सूचनामा कार्यालय परिसरबाट हुने ग्यास बिक्री–वितरण अर्को सूचना नभएसम्म नहुने उल्लेख छ। साथै, सम्बन्धित सबैलाई ग्यास बिक्री–वितरणबारे आवश्यक जानकारी गराइएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।