काठमाण्डौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारतको सिक्किमबाट रु. ७ लाख १५ हजार १०४ सहयोग प्राप्त भएको छ।
सिक्किममा नेपालका बाढीपीडितका लागि सङ्कलन गरिएको उक्त रकम सोमबार ठमेल पर्यटन विकास परिषद्लाई हस्तान्तरण गरिएको हो। परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठको पहलमा उक्त राहत रकम संकलन गरिएको थियो।
अर्गनाइजेसन अफ म्युजिसियन्स एन्ड आर्टिस्ट्स अफ सिक्किम तथा डर्टी एन्जल्स मोटरसाइकल क्लब , गान्तोकको समन्वयमा गत सेप्टेम्बर १ र २ मा राहत रकम सङ्कलन गरिएको थियो। सङ्कलित रकम डीएएमसी तथा ओएमएएसका प्रतिनिधिहरूले ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोललाई हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव तथा डीएएमसी र ओएमएएसका संस्थापक सदस्य छेरिङ वाङचुक लेप्चा, सिक्किम सरकारको श्रम विभागका तथ्याङ्क अधिकृत तथा डीएएमसीका संस्थापक सदस्य पेम्बा चोपेल भुटिया, डीएएमसीका संस्थापक सदस्य केशाङ नोर्गे शेर्पा, उत्तर सिक्किमको काबी–हिङ्दा निर्वाचन क्षेत्रका एसकेएम पार्टीका युवा संयोजक तथा डीएएमसीका संस्थापक सदस्य छेवाङ भुटिया र नेपाल–भारत वाणिज्य तथा उद्योग सङ्घका महासचिव राजन शर्माको सहभागिता थियो।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष डङ्गोलले नेपालमा विपद् आइपरेका बेला सिक्किमका नागरिक तथा संस्थाले देखाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।
परिषद्का महासचिव पशुपति कँडेलले विपद्को समयमा मानवीय संवेदनालाई आत्मसात् गर्दै सिक्किममा राहत सङ्कलन अभियान सञ्चालन गरी नेपालका बाढीपीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले नेपाल र सिक्किमबीच रहँदै आएको ऐतिहासिक आत्मीयता, मैत्रीपूर्ण सम्बन्ध तथा जनस्तरको भावनात्मक सम्बन्धको यो सहयोग उदाहरणीय रहेको बताए।
ठमेल पर्यटन विकास परिषद्ले प्राप्त राहत रकममा आफ्नो तर्फबाट समेत थप रकम योगदान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।