काठमाण्डौ । जापानमा अब राम्रोसँग सुत्नु पनि प्रतियोगिताको विषय बन्ने भएको छ। जापानको एक म्याट्रेस कम्पनीले राजधानी टोकियोमा यस्तो अनौठो ‘स्लीपिङ टुर्नामेन्ट’ आयोजना गर्ने भएको हो, जसमा उत्कृष्ट निद्रा लिन सफल प्रतियोगीले २२ लाख २० हजार जापानी येनसम्मको पुरस्कार जित्न सक्नेछन्।
प्रतियोगिता आगामी अक्टोबर ५ मा टोकियोस्थित सेयर ग्रिन मिनामी आओयामामा आयोजना हुने बताइएको छ। प्रतियोगीहरूले ९० मिनेटको सत्रमा गहिरो, स्थिर र गुणस्तरीय निद्रा लिनुपर्नेछ।
प्रतियोगितामा सहभागी प्रत्येक व्यक्तिलाई निद्रा निगरानी गर्ने उपकरण प्रयोग गराइनेछ। उक्त उपकरणबाट प्रतियोगीको निद्राको गहिराइ, समग्र गुणस्तर, स्थिरता तथा निदाउन लागेको समयलगायतका विभिन्न पक्षको मूल्यांकन गरिनेछ।
प्रतियोगीहरूले सिधै ओछ्यानमा गएर सुत्न भने पाउने छैनन्। प्रत्येक सत्रअघि उनीहरूले आयोजकले तोकेका केही पूर्व–निद्रा अभ्यास पूरा गर्नुपर्नेछ।
त्यसैगरी, प्रतियोगितालाई थप चुनौतीपूर्ण बनाउन प्रत्येक सहभागीलाई अनियमित रूपमा एउटा ‘स्लीप आइटम’ दिइनेछ। उक्त सामग्रीले उनीहरूको निद्रामा कस्तो प्रभाव पार्छ भन्ने पनि प्रतियोगिताको एक हिस्सा हुनेछ।
प्रतियोगितामा अनुचित फाइदा लिन नदिन आयोजकले कडा नियम बनाएका छन्। प्रतियोगिताअघि जानाजानी रातभर नसुत्ने, अत्यधिक निद्राबाट वञ्चित भएर छिटो निदाउने प्रयास गर्ने तथा निद्रा ल्याउनका लागि निद्राजन्य औषधि वा अन्य औषधिको प्रयोग गर्न पाइने छैन।
यसका साथै, प्रतियोगिताका क्रममा अचानक निद्रा भंग गर्ने किसिमका अवरोधसमेत उत्पन्न हुन सक्ने आयोजकले बताएका छन्। यस्तो अवस्थामा पनि प्रतियोगीले आफ्नो निद्रा कति स्थिर राख्न सक्छन् भन्ने परीक्षण गरिनेछ।
प्रतियोगितामा संकलन गरिएको निद्रासम्बन्धी तथ्यांकको चिकित्सकीय टोलीले मूल्यांकन गरेपछि विजेता चयन गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।