काठमाण्डौ । एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत आठौँ दिन नेपालले सानदार प्रदर्शन गर्दै साउदी अरेबियामाथि पाँच विकेटको सहज जित निकालेको छ। मलेसियाको बायुमास क्रिकेट ओभलमा भएको खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।
पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९।२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो। सुरुआती झट्कापछि अब्दुल वाहिदले उत्कृष्ट ब्याटिङ गर्दै ८९ बलमा ७७ रन बनाए। मोहम्मद आतिफले ३० रनको योगदान दिए।
नेपालका बलरहरूले भने सुरुदेखि नै साउदी ब्याटरमाथि दबाब कायम राखे। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले १० ओभरमा १९ रन मात्र खर्चिए। दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट हात पारे।
१९१ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआती विकेट गुमाए पनि धैर्यपूर्वक इनिङ्स अघि बढायो। देव खनालले ३९ तथा ईशान पाण्डेले ४० रन बनाए। यी दुईबीच भएको ७३ रनको महत्वपूर्ण साझेदारीले नेपालको इनिङ्सलाई स्थिरता दिएको थियो।
मध्यक्रममा केही समय विकेट गुमे पनि कप्तान रोहित पौडेलले संयमित ब्याटिङ गर्दै अविजित २४ रन बनाए। अन्तिमतिर गुलशनकुमार झाले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए।
गुलशनले ३५ बलमा अविजित ४४ रन बनाए, जसमा तीन छक्का सामेल थिए। उनको आक्रामक ब्याटिङसँगै नेपालले ४१ ओभरमै १९३ रन बनाएर पाँच विकेटको जित सुनिश्चित गर्यो।
नेपालले लक्ष्य पूरा गर्दा नौ ओभर बाँकी नै थियो। यस जितसँगै नेपालले एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनाल यात्रा तय गर्न सफल भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।