काठमाण्डौ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर हद तोक्ने नेपाल राष्ट्र बैंकको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
भरतराज कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत निर्देशन नं. ६/०८२ को बुँदा नं. १ को उपबुँदा १८ मा रहेको उमेर हदसम्बन्धी व्यवस्था हाललाई यथास्थितिमा राख्न आदेश दिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न शैक्षिक योग्यता र अनुभवसँगै उमेरको सीमा पनि तोकेको थियो। तर, रिट निवेदकले उक्त व्यवस्था बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १६ सहितका कानुनी प्रावधानविपरीत रहेको दाबी गरेका छन्।
अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलबाट अर्को निर्णय नआएसम्म राष्ट्र बैंकको विवादित उमेर हद कार्यान्वयन नहुने भएको छ।
सर्वोच्चले निवेदकको मागअनुसार आदेश जारी गर्नु नपर्ने आधार र कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। आदेश असोज २ गते जारी भएको हो।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।