सोमबार, आश्विन ५,२०८३ 06:06:44
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 06:06:44
Bizshala
Global IME Bank Limited

नेप्सेको ‘सिस्टम’मा वाइकोको छायाः बजारको नियन्त्रण नियामकसँग कि निजी कम्पनीसँग ?

नेप्सेको ‘सिस्टम’मा वाइकोको छायाः बजारको नियन्त्रण नियामकसँग कि निजी कम्पनीसँग ?
New Office

काठमाडौं । नेपालको अर्बौं रुपैयाँको धितोपत्र कारोबार सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्राविधिक प्रणालीमाथि निजी कम्पनी वाइको प्रालिको अस्वाभाविक प्रभाव रहेको गम्भीर प्रश्न उठेको छ।

आइतबार डेटा सेन्टरमा समस्या आएपछि ७२ वटा ब्रोकरको कारोबार प्रणाली एकैपटक प्रभावित हुनु र त्यसको भोलिपल्ट समग्र सेयर कारोबार नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएपछि वाइकोको भूमिकामाथि पुनः बहस सुरु भएको हो।

वाइको पहिलेदेखि नै विभिन्न विवादमा तानिँदै आएको सूचना प्रविधि कम्पनी हो। केही प्रभावशाली उद्योगी तथा व्यवसायीको लगानी रहेको भनिएको यस कम्पनीले वर्षौंदेखि नेप्सेको कारोबार प्रणालीमा बलियो पकड जमाएको आरोप लाग्दै आएको छ। तर कम्पनीको स्वामित्व संरचना, नेप्सेसँगको व्यावसायिक सम्बन्ध, प्रणालीमा रहेको पहुँच तथा उसले निर्वाह गरिरहेको भूमिकाबारे नियामक निकायले पारदर्शी रूपमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

नेप्सेकै कर्मचारीहरूका अनुसार बजार सञ्चालनका लागि प्रयोग हुने महत्वपूर्ण प्राविधिक प्रणालीमा व्यवस्थापनको वास्तविक नियन्त्रण कमजोर छ। उनीहरूको दाबीअनुसार नेप्सेको कारोबार प्रणालीमाथि संस्थागत नियन्त्रण नेप्से व्यवस्थापनसँग हुनुपर्नेमा त्यसको प्रमुख प्राविधिक नियन्त्रण वाइकोले आफ्नो हातमा लिएर बसेको छ।

यदि यो दाबी सत्य हो भने नेपालको समग्र धितोपत्र बजारको सञ्चालन, संवेदनशील डेटा र प्रणालीगत सुरक्षामाथि गम्भीर प्रश्न उठ्छ। सार्वजनिक संस्थाको नियन्त्रणमा रहनुपर्ने अति संवेदनशील प्रणाली एउटा निजी कम्पनीमाथि अत्यधिक निर्भर हुनु आफैँमा ठूलो जोखिम हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कानुनविपरीत पहुँचको आरोप

वाइकोले वर्षौंदेखि कानुनी तथा नियामकीय मापदण्डविपरीत नेप्सेको प्रणालीमा जरा गाडेर बसेको आरोपसमेत लाग्दै आएको छ। तर उसलाई कुन कानुनी व्यवस्था र सम्झौताका आधारमा प्रणालीमा पहुँच दिइएको हो, पहुँचको सीमा कति हो र उक्त पहुँचको नियमित परीक्षण तथा लेखापरीक्षण कसले गर्छ भन्ने प्रश्न अनुत्तरित छन्।

नेप्सेको कारोबार प्रणालीमा कुनै निजी कम्पनीको भूमिका प्राविधिक सेवा प्रदायकमा सीमित हुनुपर्ने हो। तर वाइकोको प्रभाव प्रणाली सञ्चालनदेखि महत्वपूर्ण निर्णयसम्म पुगेको नेप्सेभित्रै चर्चा हुने गरेको छ। त्यसैले कम्पनीको भूमिका केवल प्रविधि आपूर्तिकर्ताको हो वा उसले समग्र प्रणालीमै नियन्त्रण कायम गरेको छ भन्ने विषयको स्वतन्त्र जाँच आवश्यक देखिएको छ।

७२ ब्रोकर प्रभावित हुँदा किन बन्द भयो नेप्से ?

नेप्सेले ९२ ब्रोकरमध्ये ७२ वटाको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन गर्दा आफ्नो कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै सोमबारको नियमित कारोबार स्थगित गरेको थियो।

तर ब्रोकरहरूको डेटा सेन्टरमा देखिएको समस्या नेप्सेको मूल कारोबार प्रणालीसम्म कसरी पुग्न सक्थ्यो भन्ने विषय स्पष्ट पारिएको छैन। ब्रोकर प्रणाली र नेप्सेको मूल कारोबार प्रणालीबीच पर्याप्त सुरक्षा घेरा तथा प्राविधिक पृथकीकरण थियो वा थिएन भन्ने प्रश्न पनि उब्जिएको छ।

एउटा सेवा प्रदायक वा डेटा सेन्टरमा समस्या आउँदा देशको सम्पूर्ण सेयर बजार बन्द गर्नुपर्ने अवस्था आउनुले प्रणालीको संरचना, वैकल्पिक व्यवस्था र विपद् पुनःस्थापना योजनामै गम्भीर कमजोरी रहेको देखाउँछ। यसले नेप्से आफ्नो प्रणाली नियन्त्रण गर्न सक्षम छ कि निजी कम्पनीको प्राविधिक सहायताविना चल्नै नसक्ने अवस्थामा पुगेको छ भन्ने प्रश्न पनि खडा गरेको छ।

व्यावसायिक स्वार्थको जालो खोज्नुपर्ने

वाइकोमा लगानी गर्ने उद्योगी–व्यवसायी को हुन्, उनीहरूको पुँजीबजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष व्यावसायिक स्वार्थ छ कि छैन र कम्पनीले नेप्से तथा ब्रोकरहरूको प्रणालीमा कस्तो पहुँच पाएको छ भन्ने विषय सार्वजनिक हितसँग जोडिएको छ।

एकातिर प्रभावशाली व्यावसायिक समूहको लगानी रहेको कम्पनीमाथि बजारको महत्वपूर्ण प्राविधिक संरचनामा अस्वाभाविक प्रभाव जमाएको आरोप लाग्नु र अर्कोतिर त्यसकै नियन्त्रण तथा सुरक्षा प्रणालीमा समस्या देखिनुले सम्भावित स्वार्थको द्वन्द्वसमेत निम्त्याएको छ।

यस कारण छानबिन नेप्से वा डेटा सेन्टरको प्राविधिक समस्यामा मात्र सीमित हुनुहुँदैन। वाइकोको स्वामित्व संरचना, नेप्सेसँग भएका सम्पूर्ण सम्झौता, छनोट प्रक्रिया, प्रणालीमा दिइएको पहुँच, भुक्तानी, साइबर सुरक्षा परीक्षण र कारोबारसम्बन्धी डेटामा पहुँचको अवस्थासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ।

सेबोनको छानबिन कति गहिरो होला ?

नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरिसकेको छ। टोलीलाई समस्या पहिचान गर्नुका साथै कारोबार स्थगित गर्नुपर्ने कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुधारका उपायसहित असोज १२ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

तर बोर्डको छानबिन डेटा सेन्टरको तत्कालीन प्राविधिक समस्यामै सीमित हुन्छ वा नेप्सेको प्रणालीमाथि वाइकोको कथित नियन्त्रणसम्म पुग्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

नेप्से व्यवस्थापनले आफ्नो प्राविधिक प्रणाली, स्रोत कोड, प्रशासनिक पहुँच र संवेदनशील डेटा पूर्ण रूपमा नियन्त्रणमा राखेको प्रमाणित गर्नुपर्ने अवस्था आएको छ। साथै, वाइकोसँग भएका सम्झौता र कम्पनीलाई दिइएको प्रणालीगत पहुँच सार्वजनिक नगरेसम्म उठेका शंका सहजै हट्ने देखिँदैन।

देशको पुँजीबजार कुनै निजी कम्पनीको प्रभाव वा दयामा चल्ने विषय होइन। लाखौं लगानीकर्ताको सम्पत्ति र संवेदनशील विवरण जोडिएको प्रणालीको नियन्त्रण राज्यको आधिकारिक निकायसँगै रहनुपर्छ। त्यसैले अहिलेको छानबिनले समस्या कसरी आयो भन्ने मात्र होइन, नेपालको धितोपत्र बजारको वास्तविक प्राविधिक नियन्त्रण कसको हातमा छ भन्ने प्रश्नको समेत स्पष्ट उत्तर दिनुपर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.