काठमाण्डौ । काठमाडौंको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी तथा त्यसअघि चालक र ट्राफिक प्रहरीबीच भएको विवादबारे छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
प्रहरी स्रोतका अनुसार समितिले आगलागी हुनुअघि बस चालक दावा लामा र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच भएको संवाद तथा विवादको अवस्थाबारे विस्तृत अध्ययन गर्नेछ।
त्यस्तै, घटनास्थल आसपासका सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा घटनासँग सम्बन्धित अन्य प्रमाणको विश्लेषण गरिनेछ।
त्रिपुरेश्वरमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिबानाको विषयमा विवाद भएको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि बसमा आगलागी हुँदा चालक दावा लामा गम्भीर घाइते भएका थिए।
घटनामा ट्राफिक प्रहरीको भूमिका तथा विवादले आगलागीको घटनासम्म पुग्न कस्तो परिस्थिति सिर्जना गर्यो भन्ने विषयसमेत छानबिनको दायरामा पर्नेछ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि उक्त घटनाबारे अलग्गै छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले घटनालाई सबै कोणबाट अध्ययन भइरहेको बताएका छन्।
उनका अनुसार छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा घटनामा कसैको कमजोरी वा जिम्मेवारी देखिए आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।