काठमाण्डौ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ भने उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्वी बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ भने केही स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा अन्य तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षाको सम्भावना समेत रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।