काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग गर्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन्।
भेटमा मन्त्री खनालले बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरे। उनले विपद्पछिको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका कार्य अघि बढाउन नेपाललाई थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए।
“नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ। यस क्रममा जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ,” मन्त्री खनालले भने।
खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएको बताए।
भेटमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो समय आएको विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौतीका रूपमा लिनुपर्ने बताइन्। उनले जर्मनी नेपाललाई आवश्यक वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
भेटवार्ताका क्रममा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो। साथै, पारस्परिक हितका क्षेत्रमा विद्यमान सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।