काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा नेपालसँग संयुक्त राष्ट्रसंघको ऐक्यबद्धता रहने बताए।
गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। उनले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले भोटेकोशी विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराए।
भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा विपद्पछिको हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसको सामना गर्न आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे समेत कुराकानी भएको जनाइएको छ।
यसैगरी, नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने समयसीमा थप गर्न समर्थन गर्ने विषयमा पनि प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच छलफल भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।