काठमाण्डौ । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको छ।
लगातारको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुल बगेको हो। पुल बगेसँगै स्याङ्जा र गुल्मीबीचको उक्त सडक सम्पर्कसमेत प्रभावित भएको छ।
यसैबीच, मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएका छन्। नदीमा पानीको बहाव उच्च भएपछि आयोजनाले विद्युत् उत्पादनसमेत बन्द गरेको छ।
कालीगण्डकीको जलस्तर बढ्दै जाँदा स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको छ। नदीको बहाव बढेसँगै बजार क्षेत्रमा बाढी पसेको र आसपासका संरचनामा जोखिम बढेको छ।
नदीको सतह अझै उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
बाढीका कारण पुल बग्नुका साथै विद्युत् उत्पादन बन्द हुनु र सेतीवेणी बजार डुबानमा पर्नुले कालीगण्डकी आसपासको जनजीवन थप प्रभावित बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।