काठमाण्डौ । बरमूडाबाट अमेरिकाको बोस्टनतर्फ उडेको एयर एम्बुलेन्स अटलान्टिक महासागरमाथि बेपत्ता भएपछि त्यसको भग्नावशेष फेला परेको छ। अमेरिकी कोस्ट गार्डका अनुसार विमान म्यासाचुसेट्सको नान्टकेट तटनजिक समुद्रमा दुर्घटनाग्रस्त भएको हो।
क्यानडामा दर्ता भएको गल्फस्ट्रिम जी–१०० विमान बरमूडास्थित एलएफ वेड इन्टरनेसनल विमानस्थलबाट शनिबार राति बोस्टनका लागि उडेको थियो। उडानका क्रममा विमानसँग सम्पर्क विच्छेद भएको थियो।
विमानमा चार चालक दलका सदस्य र दुई यात्रुसहित ६ जना सवार थिए। कोस्ट गार्डका अनुसार उनीहरूमध्ये चार जना क्यानडाका र दुई जना बरमूडाका नागरिक थिए।
उडानकै क्रममा विद्युत् प्रणालीमा समस्या
उपलब्ध एयर ट्राफिक कन्ट्रोल अडियोअनुसार विमानका पाइलटले उडानका क्रममा विद्युत् प्रणालीमा समस्या आएको जानकारी दिएका थिए। विमान नेभिगेसन प्रणालीमा समेत समस्या आएर दिशानिर्देशनबिनै उडिरहेको संकेत पाइलटले दिएका थिए।
कन्ट्रोलरले विमान नेभिगेसनबिना उडिरहेको हो कि भनेर पुनः पुष्टि गर्न खोजेको रेडियो संवादमा सुनिन्छ। यसैबीच विमानको उडान मार्गमा ठूलो आँधीसमेत देखिएको थियो। त्यसको केही समयपछि विमानसँग सम्पर्क टुटेको थियो।
२४ हजार फिटबाट १० हजार फिटमा झर्यो
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ को प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा तल झर्दै करिब १० हजार फिटमा पुगेको देखिएको थियो।
अमेरिकाको यातायात विभागकी पूर्व महानिरीक्षक मेरी शियाभोका अनुसार विमानको नेभिगेसन उपकरणमा समस्या आएको हुन सक्ने र त्यसपछि खराब मौसमका कारण दुर्घटनाको जोखिम थप बढेको हुन सक्छ।
उनले ठूलो उचाइबाट अचानक तल झर्नु विमानमा गम्भीर समस्या उत्पन्न भएको संकेत हुन सक्ने बताएकी छन्। विशेषगरी उपकरणमा समस्या आएर आँधीभित्र प्रवेश गर्दा पाइलटका लागि विमानको दिशा, उचाइ र अवस्था नियन्त्रण गर्न कठिन हुन सक्ने उनको भनाइ छ।
नान्टकेट तटनजिक भग्नावशेष भेटियो
विमानसँग सम्पर्क विच्छेद भएपछि अमेरिकी कोस्ट गार्डले रातभर समुद्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा नान्टकेट तटनजिक विमानको भग्नावशेष फेला परेको हो।
विमानमा सवार व्यक्तिका परिवार तथा आफन्तलाई घटनाबारे जानकारी गराइएको कोस्ट गार्डले जनाएको छ। बरमूडा विमानस्थलका सञ्चालक स्काईपोर्टले पनि विमानमा चार चालक दलका सदस्य र दुई यात्रु रहेको पुष्टि गरेको छ।
क्यानडाका यातायात मन्त्री स्टिभन म्याकिननले ट्रान्सपोर्ट क्यानडाले अमेरिकी अधिकारीहरूसँग समन्वय गरी खोज तथा उद्धार अभियानमा सहयोग गरिरहेको बताएका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले गल्फस्ट्रिम जी–१०० विमानसँग शनिबार बिहानै सम्पर्क टुटेको जनाएको छ। राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले पनि घटनाबारे जानकारी संकलन गरिरहेको छ।
विमान दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन। प्रारम्भिक विवरणमा देखिएको विद्युत् तथा नेभिगेसन प्रणालीको समस्या, खराब मौसम र विमानको तीव्र अवतरण दुर्घटनाको अनुसन्धानका प्रमुख विषय बन्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।