काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनका ऊर्जा तथा नागरिक पूर्वाधारमा हमला बढाए त्यसको जवाफ रूसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर दिने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा जेलेन्स्कीले रूसले आगामी जाडोमा युक्रेनका नागरिक पूर्वाधारमाथि थप आक्रमण गर्ने तयारी गरिरहेको खुफिया सूचना प्राप्त भएको दाबी गर्दै त्यसको प्रतिकार गर्ने बताएका हुन्।
उनका अनुसार रूसले ऊर्जा, यातायात, सडक, विद्यालय तथा अस्पतालजस्ता संरचनालाई निशाना बनाउन सक्ने सूचना युक्रेनसँग छ। नागरिकलाई राजधानी किभलगायत प्रमुख सहरबाट बाहिर जान दबाब दिने उद्देश्यले पनि यस्ता हमला हुन सक्ने उनको भनाइ छ।
यसको जवाफमा युक्रेनले रूसको युद्ध अर्थतन्त्रलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि हमला बढाउने जेलेन्स्कीले बताएका छन्।
‘हामी नागरिकका लागि अत्यावश्यक पूर्वाधारलाई निशाना बनाउँदैनौँ। तर युद्धका लागि आम्दानी जुटाउने स्रोतमा हमला बढाउँछौँ,’ जेलेन्स्कीले भनेका छन्।
रूसले पछिल्लो एक सातादेखि किभमा ड्रोन तथा क्षेप्यास्त्रबाट लगातार हमला गरिरहेको युक्रेनी पक्षको दाबी छ। ऊर्जा तथा दूरसञ्चार संरचना, सडक र रेल पूर्वाधारलाई निशाना बनाइएको र किभलाई जोड्ने डिनिप्रो नदीका पुलहरूमाथि समेत हमला भएको जेलेन्स्कीले बताएका छन्।
उनले रूसले युक्रेनको ऊर्जा संरचनामाथि हमला गरे त्यसको जवाफमा रूसी ऊर्जा संरचनालाई निशाना बनाइने बताएका छन्। उनका अनुसार त्यसमा सबैभन्दा पहिले रूसलाई युद्धका लागि आर्थिक स्रोत उपलब्ध गराउने तेल प्रशोधन केन्द्र प्राथमिकतामा पर्नेछन्।
डोनबासमा जबाफी कारबाही जारी रहेको दाबी
जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा युक्रेनले ‘भिभाल्डी’ नाम दिइएको जबाफी कारबाही जारी राखेको र करिब १४० वर्ग किलोमिटर भूभाग फिर्ता लिएको दाबी गरेका छन्। रूसले भने शान्ति सम्झौताका लागि डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आउनुपर्ने अडान राख्दै आएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेको छ। ट्रम्पले गत महिना युक्रेनलाई रूसी तेल संरचनामाथि हमला नगर्न आग्रह गरेका थिए।
तर जेलेन्स्कीले रूसले युद्धविराम वा शान्ति वार्तामा रुचि देखाएको कुनै ठोस संकेत नदिएको बताएका छन्। उनले डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति वार्ता गर्न आफू तयार रहेकोसमेत बताएका छन्।
जेलेन्स्कीले डोनबासमाथि रूसको नियन्त्रण स्थापित भएपछि मात्र युद्ध अन्त्य हुने धारणामा नपर्न अमेरिकालाई आग्रह गरेका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार रूसले आगामी जाडोमा युक्रेनको विद्युत् र पानी आपूर्ति संरचनामाथि ठूलो हमला गर्न सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गरेको छ।
गत जाडोमा रूसी हमलाका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् र ताप प्रणाली दिनौँसम्म प्रभावित भएको थियो। आगामी जाडोमा त्यस्ता पूर्वाधारमाथि हुने सम्भावित हमलालाई लिएर युक्रेनले सतर्कता बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।