काठमाण्डौ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले मोरङको रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमा सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीलाई बीमासम्बन्धी व्यवहारिक ज्ञान दिएर त्यसको प्रभाव परिवार र समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक भएकाले विद्यालय तहदेखि नै वित्तीय तथा बीमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्दै लगिएको प्राधिकरणको भनाइ छ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई केवल कागजी सम्झौताका रूपमा नभई जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षा कवचका रूपमा बुझाउनुपर्ने बताए। उनले लक्षित समूहमा बीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताए।
कार्यक्रममा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्व, आवश्यकता तथा सम्भावित आर्थिक क्षतिबाट जोगिन बीमाले खेल्ने भूमिकाबारे विद्यार्थी र शिक्षकलाई प्रशिक्षण दिएका थिए।
उनले मुलुकको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन तथा निर्जीवन बीमाका प्रकार र तिनको उपयोगिताबारे पनि जानकारी गराएका थिए।
अन्तरक्रियापछि विद्यार्थीका लागि बीमासम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले बीमासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा द्विविधा राखेका थिए।
कोशी प्रदेश प्रमुख महर्जनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई यस्तो व्यावहारिक वित्तीय ज्ञान दिन सके भविष्यमा जिम्मेवार नागरिक बन्न मद्दत पुग्नुका साथै उनीहरूले आफ्ना परिवारलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।