काठमाण्डौ । गोरखाको बूढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उत्तरी क्षेत्रमा जमिन हल्लिएको संकेत रेकर्ड भएको पाइएको छ। तर उक्त कम्पन भूकम्पकै कारण भएको हो भन्ने पुष्टि भने भएको छैन।
अमेरिकाको अर्थस्कोप कन्सोर्टियमअन्तर्गतको भूकम्प अनुगमन प्रणालीमा नेपालस्थित ककनी स्टेसनले शनिबार राति जमिनमा असामान्य कम्पन रेकर्ड गरेको देखिएको छ। सो प्रणालीले विभिन्न स्थानमा जडान गरिएका सिस्मोमिटरबाट प्राप्त कम्पनसम्बन्धी तथ्यांक अभिलेख गर्छ।
ककनी स्टेसनमा देखिएको संकेतपछि बूढीगण्डकी क्षेत्रमा पहिरो, ठूलो चट्टान खसाइ वा अन्य कुनै भूगर्भीय गतिविधि भएको हुनसक्ने आशंका गरिएको छ। स्थानीय बासिन्दाले पनि बाढी आउनुअघि जमिन हल्लिएको महसुस गरेको बताएका छन्।
तर राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो २४ घण्टामा गोरखा वा आसपास नयाँ भूकम्प रेकर्ड नभएको जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार उक्त समयमा भूकम्पको आधिकारिक अभिलेख छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले समेत भूकम्प मापन केन्द्रसँग बुझ्दा सो क्षेत्रमा नयाँ भूकम्प पुष्टि नभएको जानकारी प्राप्त भएको बताएका छन्।
भूगर्भविद्हरूका अनुसार ठूलो पहिरो, चट्टान खसाइ, हिमपहिरो वा तीव्र बाढीले पनि जमिनमा पर्याप्त कम्पन उत्पन्न गर्न सक्छ। अत्यन्त संवेदनशील सिस्मोमिटरले त्यस्ता तरंगसमेत टिप्न सक्छ, तर ती सबै कम्पनलाई भूकम्पका रूपमा सूचीकरण गरिँदैन।
यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका बेला पनि भूकम्पजस्तै तरंग रेकर्ड भएको थियो। पछि गरिएको अध्ययनमा उक्त तरंग भूकम्प नभई हिमनदीको ठूलो भाग खसेपछि उत्पन्न भएको पाइएको थियो।
भूगर्भविद् डा. लोकविजय अधिकारीले गोरखामा महसुस गरिएको कम्पन पनि यस्तै प्रकृतिको हुनसक्ने बताएका छन्। उनका अनुसार गोरखा वा आसपास पछिल्लो समय भूकम्पको रेकर्ड छैन, त्यसैले पहिरो वा ठूलो भू–स्खलनले कम्पन सिर्जना गरेको सम्भावनालाई समेत अध्ययन गर्नुपर्ने हुन्छ।
ठूलो परिमाणमा माटो, ढुंगा वा हिउँ खस्दा जमिनमा भूकम्पीय ऊर्जा पैदा हुन सक्छ। नजिकैको सिस्मिक स्टेसनले त्यसलाई स्पष्ट रूपमा रेकर्ड गर्न सक्छ।
यस्तो अध्ययनलाई ‘वातावरणीय भूकम्प विज्ञान’ भनिन्छ। यसबाट पहिरो गएको समय, कम्पन कति बेर रह्यो र कति ठूलो पदार्थ खस्यो भन्नेसम्मको अनुमान गर्न सकिन्छ।
बूढीगण्डकीको बाढीअघि देखिएको कम्पन वास्तवमै पहिरो, चट्टान खसाइ वा अन्य कुनै भूगर्भीय घटनासँग सम्बन्धित थियो कि थिएन भन्ने निष्कर्षका लागि भने थप वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।